अब मुग्लिङ्ग-पोखरा सडक पनि चार लेनको बन्ने

Share:

काठमाडौ, १९ पुस-
सरकारले मुग्लिन देखि पोखरासम्म पुग्ने सडकलाई पनि फराकिलो बनाउने भएको छ । सडक विभागले अहिले पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन नारायणगढ सडकखण्डलाई चार लेनको बनाउन प्रक्रिया अगाडी बढाएको छ ।

एसियाली विकास बैंकको सहयोग आउने भएपछि मुग्लीन(पोखराको झण्डै ९३ किलोमिटर सडक विस्तारको विस्तृत डिजाइनिङ थालिएको विभागले जनाएको छ । क्यानेडियन कम्पनी एमएमएम ग्रुपले मुग्लिन-पोखरा सडकको डिजाइनिङको जिम्मा पाएको छ र, उसले फिल्डमै पुगेर सडकको अवस्था हेरेर डिजाइन तयार गर्नेछ ।

मुग्लिन-पोखरा सडकखण्ड विस्तारका लागि एडिबीले सहुलियत ब्याजदरमा ऋण दिने सैद्धान्तिक सहमति जनाएको छ । तर, ऋण सम्झौता भने भएको छैन । ‘नेक्स्ट’ प्रोजेक्टका रुपमा पोखरा पुग्ने सडकलाई स्तरउन्नति गर्न ऋण दिन एडिबी तयार रहेको सडक विभागका एक उच्च अधिकारीले बताए ।

उनका अनुसार केही समयभित्रै यो खण्ड विस्तारको मोडल तयार हुनेछ ।

विस्तार भएपछि अन्य डिभाइडरको दुईतर्फ सडक ७-७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।  डिजाइनबाट नै यो सडकखण्ड कस्तो बन्ने भन्ने टुंगो लाग्ने भएकाले निर्माण मोडेलसहितका विषय केही समय पछि भन्न सकिने सडक विभागका अधिकारीहरु बताउँछन् । तर, सडक चार लेनको भएपनि बीचमा ग्रीनरीका लागि ‘मिडियम’ नराख्ने प्रारम्भिक तयारी छ ।

सडकलाई आधुनिक प्रविधिबाटै निर्माण गर्ने योजना छ । साथै यो खण्ड विस्तारका लागि कति लागत लाग्छ भन्ने टुंगिएको छैन ।

विभागले निकट भविष्यमै बुटवल-नारायणगढ सडकखण्ड पनि ४ लनेको बनाउँदैछ । नारायणगढ-मुग्लिन सडक पनि विस्तारको लागि काम भइरहेको छ । मुख्य राजमार्ग फराकिलो पार्ने योजना अब पोखरासम्म पुग्न लागेको हो । यसले भारतबाट आउने पर्यटकलाई पनि पोखरा पुग्न निकै सहज हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: