साजन आले भन्छन्,’सपना साकार पार्ने मञ्च हो बिग आइकन’

Share:

गत वर्षको कुरा हो, भारतीय नाकाबन्दीका कारण व्यापार-व्यवसायदेखि आम मान्छेको दैनिक जीवन नै चौपट भइरहेको थियो । देशको सुर बेसुरा भएको प्रतिकूल समयमा एउटा ठिटो भने आफ्नो सपनाको सुर पक्रिन निस्किएको थियो ।

यो कथा हो, चितवन पटिहानीका २६ वर्षे तन्नेरी साजन आलेको । संगीतको भोक कस्तो थियो भने, उनी त्यसबेला भोकै-प्यासै बसमा कोचिएर पोखरा कुदेका थिए । पोखरामा बिग एफएमले बर्सेनि आयोजना गर्ने गायन प्रतियोगितामा भाग लिन उनी ‘पटिहानी टु पोखरा’ एक्सप्रेस चढेका थिए ।

सपना थियो, ‘बिग आइकन’ प्रतियोगिताको छैटौं संस्करण जित्ने ।प्रतियोगिताको अडिसनमा सहभागी थिए, नौ सयभन्दा बढी युवायुवती । इलाम, सुनसरीदेखि युवाको ओइरो थियो । सहभागीहरुको संख्या देख्दा नै उनी आत्तिए । तर, त्यो डर लामो समय रहेन ।

उनले स्मरण गरे, ‘पर्फम राम्रो गर्दै जाँदा र जजहरुको कम्लिमेन्ट पाउँदा डर हराएर जाँदो रहेछ । केही समयमै मेरो आत्मविश्वास बढ्यो ।’ त्यही आत्मविश्वासको नतिजा हो, उनी सबै प्रतिस्पर्धीलाई पछि पार्दै छैटौं बिग आइकन बन्न सफल भए ।

प्रतियोगिताका विजेताले करिब दुई लाख रुपैयाँ राशीको पुरस्कार र बेलायतमा सांगीतिक कार्यक्रम गर्ने अवसर पाउँछन् । बेलायत यात्राको चाँजोपाँजो बेलायतबाट प्रकाशन हुने पाक्षिक पत्रिका युरोपको नेपालीपत्र र काठमाडौंको द ब्रिटिस कलेजले मिलाउँछन् ।

साजनलाई लिएर बिग एफएमका अध्यक्ष महेश भण्डारी बेलायतको १८ दिने यात्रापछि हालै नेपाल फर्किएका छन् । फर्किएपछि साजनले सांगीतिक यात्राबारे सुनाए, ‘विदेशमा नेपाली गीत-संगीतमा रमाउने नेपालीहरु देखेँ । त्यसले मलाई म्युजिकमा अझै केही गरौं भन्ने उत्साह दियो ।’

बेलायतमा उनले लन्डनका साथै अल्सटर, रिडिङ गरी तीन वटा शहरमा कार्यक्रम गरे । कतै अरु कलाकारसँगै मिसिएर कन्सर्टमा गाए, कतै भने एकल साँझ आयोजना भयो । १० दिनको यात्रामा उनी गए पनि त्यहाँका नेपालीहरुको मायाले कार्यक्रम लम्ब्याउँदै १८ दिनसम्म बसे ।

बेलायतमा विदेशको तामझाम देख्न पाएका साजनले यसअघि पनि विदेश त टेकेका थिए । तर, कहाँ कतार, कहाँ बेलायत , कहाँ वैदेशिक रोजगारीको असिनपसिन जिन्दगी, कहाँ बिन्दास सांगीतिक माहौल ।

पाँच सन्तानमध्ये घरको जेठो छोरा भएकोले उनी घरको गर्जो टार्न विदेश हान्निएका थिए । कतारमा दुई वर्ष बसेर फर्किए र अन्तरमनको आवाज सुन्दै संगीत कर्ममा लागे । त्यसै क्रममा गत वर्ष ‘बिग आइकन’ को छैटौं विजेता बने ।

साजनको इच्छा छ, अहिलेका चल्तीका गायक शिव परियार र कमल खत्री जस्तो बन्ने । त्यस्तै उँचाइ छुन अझै डटेर लाग्ने उनको ध्याउन्न छ । अहिलेसम्म आफ्नै अभ्यासले गाउँदै आएका उनले अब संगीत सिक्ने योजना बनाएका छन् ।

यतिन्जेल कार्यक्रमहरुमा अरुकै गीत गाउँदै र अभ्यास गर्दै आएका साजनले आफ्नै सिर्जनाको पनि खाता खोलिसकेका छन् । महिना दिनअघि मात्रै उनले ध्रुवप्रसाद अम्गाईको शब्द र तुला पर्वतको संगीत रहेको ‘वारिमा खोला पारिमा खोला’ गीत सार्वजनिक गरेका छन् ।

बिग आइकनको प्लेटर्फमबाट आएका गायक-गायिकाहरु देश-विदेशको कन्सर्टमा हिँड्ने गरेको र कतिपय त प्लेब्याक सिंगरको रुपमै जमेको बिग एफएमका अध्यक्ष महेश भण्डारी बताउँछन् । त्यो मञ्चबाट आएर गगन पुन, दुर्गा परियार, सीडी विजय अधिकारी, आशिष दियाली जस्ता प्रतिभाहरू व्यावसायिक रुपमा संगीत क्षेत्रमा सक्रिय रहनुलाई उनी गर्व मान्छन् ।

बिग एफएम अब सातौं ‘बिग आइकन’ आयोजनाको सँघारमा छ । आवेदन खुला गर्दै एफएमको वेबसाइटबाट पनि अनलाइन फारम भर्न सकिने व्यवस्था गरिएको छ । यो पटक अघिल्ला सँस्करणभन्दा अझै बढि साँगीतिक प्रतिभाहरु बिग आइकनको मञ्चमा आउने दाबी आयोजक बिग एफएमले गरेको छ । र, अघिल्ला सँस्करणको तुलनामा यो पटक अझै वृहत रुपमा बिग आइकनलाई लैजाने योजना आयोजकले बनाएको छ ।

यो खुला गायन प्रतियोगितामा प्रतियोगीहरु २१ वटा अडिसन पार गर्दै फिनालेमा पुग्छन् । छानिएका उत्कृष्ट दुई वा तीन जना गायक-गायिकामध्ये पब्लिक भोटिङबाट विजेता घोषित गर्ने प्रावधान छ । ग्रान्ड फिनाले पोखरा सिटी हलमा भव्य रुपमा आयोजना हुने गरेको भण्डारी बताउँछन् । सातौँ सँस्करणको बिग आइकनको तयारी यतिबेला तिव्र पारिएको छ । केहि दिनमै पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर अडिसनको मिति सार्वजनिक गर्ने तयारी आयोजकले गरेको छ ।

बिग आइकनको सोच कसरी आयो त ?

अध्यक्ष भण्डारी भन्छन्, ‘पहिलो कुरा त एफएमको नियमित कार्यक्रम बाहेकको यो सामाजिक काम हो । अर्को कुरा, पहिले नामी गायक र ब्यान्ड जन्माएको पोखरामा पछिल्लो समय उल्लेख्य प्रतिभा नआउनुमा कतै मञ्चकै अभाव पो हो कि भनेर हामीले खुला गायन प्रतियोगिता सुरु गरेका हौं ।’ गायन प्रतिभाको खोजी र समुदायप्रति समर्पित बिग आइकनले देशभरिका प्रतिभालाई ऊर्जा देओस् ।

कमेन्ट गर्नुहोस्
Share: