
रेम बिक
पोखरा, २३ माघ । रेडियो गेम शो बेस्ट भ्यालेन्टाइन कपल अन्तरगत पहिलो दिन अन्जन सुर्खेती र बिमला बिस्कुनेको जोडी उत्कृष्ट भएको छ । शनिबार पहिलो दिन रेडियो गेम शो का लागि एसएमएस भोटिङ गरेका जोडीहरुमध्येबाट उनीहरुलाई लक्की ड्र गरेर उत्कृष्ट छनौट गरिएको एफएमले जनाएको छ ।
प्रणय दिवसलाई लक्षित गर्दै बिग एफएमले रेडियो गेम शो ‘बेस्ट भ्यालेन्टाइन कपल’ शनिबारदेखि शुरु गरेको हो । हरेक वर्ष गर्दै आएको यो रेडियो गेम शोलाई यो पटक ओसिस एजुकेशन कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको छ ।
एफएमले हरेक दिन एउटा उत्कृष्ट भ्यालेन्टाइन जोडी छनौट गर्नेछ । दश दिनसम्म चल्ने यो रेडियो गेम शोबाट छानिएका १० उत्कृष्ट जोडीहरुमध्येबाट फेब्रुअरी १४ मा एकजना सर्वोत्कृष्ट जोडी छनौट हुनेछन् । रेडियो गेम शो मा सहभागिताको लागि माया गर्ने जोडीहरुले एसएमएसमार्फत यो रेडियो गेम शोमा ‘जोडी दर्ता’ गर्नुपर्ने एफएमले जनाएको छ ।
युवा ज्योतिष हरिहर अधिकारीले सर्वोत्कृष्ट जोडी छान्ने एफएमले जनाएको छ । उनले उत्कृष्ट जोडीहरुमध्ये ज्योतिष शास्त्रबाट ‘लभ केमेस्ट्री’ मिलेको एक जोडीलाई सर्वोत्कृष्ट घोषित गर्नेछन् । यसरी छानिएका सर्वोत्कृष्ट जोडीले नगद १५ हजार रुपैँया सहित विभिन्न भ्यालेन्टाईन गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै अन्य उत्कृष्ट जोडीहरुले पनि नगद दुई हजार रुपैँया र भ्यालेन्टाईन गिफ्ट प्राप्त गर्ने एफएमले जनाएको छ ।
रेडियो गेम शो मा दर्ता हुनका लागि जोडीहरुले मोबाईलको मेसेज बक्समा गई BIG space FM space दिई जोडीको नाम लेखेर ४३२१ मा पठाउनुपर्नेछ । जुनसुकै उमेर समुहका जोडीले यसमा आफ्नो नाम दर्ता गराउन सक्ने एफएमले जनाएको छ ।
