
माघ २४ गते-
रुपन्देहीको बुटवलमा एक युवकले आफ्नै प्रेमिकालाई एसिड प्रहार गरेका छन् । एसिड प्रहारबाट गम्भीर घाइते भएकी युवतीको उपचारका लागि काठमाडौं लैँजाने क्रममा मृत्यु भएको छ ।
नवलपरासीको गैंडाकोटकी २७ वर्षीया तुलसा सापकोटाको एसिड प्रहारबाट मृत्यु भएको हो ।
धादिङका २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोटकी २७ वर्षीया तुलसा सापकोटा बुटवलको मेरिडियन होटलमा सँगै बास बसेपनि आपसी विवादमा सुनिलले तुलसालाई एसिड छ्यापेका थिए ।
उनीहरु दुवैजना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।
एसिड प्रहारपछि भाग्न खोजेका सुनिललाई भने होटलका कर्मचारीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । सुनिलले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको प्रहरीसमक्ष बयान दिएका छन् ।
एसिड प्रहारबाट गम्भीर घाईते भएकी तुलसाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार सम्भव नभएपछि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
