
पोखरा, २५ माघ–
भरतपोखरीस्थित शिशुकल्याण आधारभूत विद्यालयको स्तरोन्नति गर्दै प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले मंगलबारदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल महोत्सव सुरु हुँदैछ । महायज्ञ फागुन २ गतेसम्म चल्नेछ ।
महायज्ञ प्रचारका लागि सोमबार पोखरा र लेखनाथका विभिन्न ठाउँमा मोटरसाइकल तथा कार ¥याली प्रदर्शन गरियो । महायज्ञ मूलआयोजक समिति महासचिव डिल्लीराम बरालका अनुसार महायज्ञस्थल स्कुल परिसरदेखि सुरु ¥यालीमा करिब ३ सयको संख्यामा मोटरसाइकल तथा कार सहभागी थिए ।
¥याली उद्घाटन शिक्षाप्रेमी सरस्वती उच्च माविका पूर्वअध्यक्ष केशरप्रसाद निर्दोषीले गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस लेखनाथ १७ का वडा सभापति सरोजराज अधिकारी, एमालेका वडा अध्यक्ष धनेश्वर अधिकारी, नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष मदनप्रसाद अधिकारी, प्रचार संयोजक मोती गिरी, अतिथि सत्कार समिति संयोजक केशवप्रसाद आचार्यलगायत बोलेका थिए ।
महायज्ञ उद्घाटनअघि बिहान १० बजे लेखनाथ १७ बसपार्कदेखि कलस यात्रा गरिनेछ । १०८ को पूर्ण कलसयात्रा वरेलीचोक, पानीटंकी, कालिकास्थान, भगवती चौतारा हुँदै महायज्ञस्थल ठूलढुंगा बेसी आउनेछ । महायज्ञ उद्घाटन संसद विकास सभापति रवीन्द्र अधिकारले गर्ने कार्यक्रम छ ।
करिब २ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको उक्त महायज्ञमा प्रमुख वाचक भागवत भाष्कर पण्डित कमलनयन गौतम रहेका छन् । महायज्ञ तयारीस्वरुप लेखनाथका विभिन्न ठाउँमा ६ वटा स्वागतद्धार निर्माण गरिएको छ । ठाउँ ठाउँमा स्वागत व्यानर राख्नुका साथै पोखरा र लेखनाथ चल्ने करिब २ सय नगर बसमा तुल व्यानर टाँगिएको छ । महायज्ञस्थल वरपरको लक्ष्मीकुनादेखि ठूलढुंगासम्म सरसफाइ पारी चिरीच्याट्ट पारिएको छ । यस्तै विद्यालयमा ध्वजापताकालो सजाइएको छ । यज्ञमण्डप, हवनकुण्ड, मंच निर्माण भैसकेको छ ।
महायज्ञबाट संकलित रकमले समय सुहाउँदो प्राविधिक शिक्षा, अक्षयकोष स्थापना, सुविधा सम्पन्न भौतिक संरचना, बालउद्यान, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, खेल मैदान, आइसिटीयुक्त सभा हल, नमूना शैक्षिक संग्रहालय निर्माण गर्ने मूल उद्देश्य रहेको मूलआयोजक समिति संयोजक श्रीभद्र बरालले बताए ।
महायज्ञ सफल बनाउन एक हजार एक सय ११ सदस्यीय मूलआयोजक समिति, तीन सय पाँच सदस्यीय सल्लाहकार समिति र ५१ वटा उपसमिति गठन गरिएको विद्यालयका प्रध्यानाध्यापक जगदीश सुवेदीले बताए ।
