
पोखरा, २५ माघ-
पोखरा उद्योग वाणिज्य संघ ६३ वर्षमा प्रवेश गरेको छ । उद्योगी÷व्यवसायीहरुको हकहित रक्षाको लागि २०११ साल माघ २५ गते संघको विधिवत् स्थापना भएको थियो ।
पोखराको जेठो सामाजिक संस्थाको रुपमा क्रियाशिल संघले यहाँको शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको विकासको लागि आफूलाई समर्पित गर्दैै आएको छ । अध्यक्ष विश्वशंकर पालिखेका अनुसार पोखराका सबैजसो शैक्षिक संस्था स्थापनामा संघले अतुलनीय योगदान प्रदान गरेको छ । ‘पृथ्वीनारायण क्याम्पस देखि पोखरा विश्वविद्यालयको स्थापनामा संघले आर्थिक र नैतिक सहयोग प्रदान गरेको छ’,उहाँले भन्नुभयो,‘ शिद्धार्थ राजमार्गको निर्माणदेखि, महेन्द्रपुल तथा पोखरा सभागृह जस्ता भौतिक संरचना पनि संघको आर्थिक सहयोगले सम्भव भएको हो ।’
नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक रहेको संघ एसिया प्रसान्त क्षेत्रीय उद्योग वाणिज्य संघ ( क्यासी) को सदस्य पनि हो । पोखराको विकास निर्माणको लागि लविङ र पैरवी गर्दै आएको संघले नै नेपालको निजी क्षेत्रमा पहिलो पटक व्यवसायिक सामाजिक उत्तरदायित्वको अवधारणा भित्र्याएको हो ।
संघको स्थापना दिवसको अवसरमा मंगलबार संघको सचिवालयमा झण्डोत्तोलन तथा चियापान कार्यक्रमको आयोजना गरियो । झण्डोत्तलन कार्यक्रममा संघका अध्यक्षसहित पूर्व अध्यक्षहरु अशोक पालिखे, रमेश कर्माचार्य, राजेन्द्रकुमार लालचन, कृष्णमोहन श्रेष्ठ, संजिबहादुर कोइराला र निवर्तमान अध्यक्ष विन्दुकुमार थापासहितका पदाधिकारीको सहभागिता रहेको थियो ।
