
पोखरा, २६ माघ–
प्रणय दिवसलाई लक्षित गर्दै बिग एफएमले शनिबारदेखि शुरु गरेको रेडियो गेम शो ‘बेस्ट भ्यालेन्टाइन कपल’ जारी छ । चौथो दिन बबिता थापा र सरोज पौडेलको जोडी उत्कृष्ट भएका छन् । यसअघि ३ जोडीहरु उत्कृष्ट हुँदै फाइनल प्रतिस्पर्धाका लागि छानिइसकेका छन् ।
तेस्रो दिन कर्णलाल कुलुङको जोडी, दोस्रो दिन आईतबार शर्मिला मगर र मदन मगरको जोडी तथा पहिलो दिन शनिबार अन्जन सुर्खेती र बिमला बिस्कुनेको जोडी छनौट भएका थिए । शनिबारदेखि शुरु भएको यो रेडियो गेम शो फागुन १४ गतेसम्म चल्नेछ ।
मायालु जोडीहरुलाई लक्षित यो कार्यक्रम बिग एफएमले हरेक वर्षको प्रणय दिवसमा गर्दै आएको छ । ओसिस एजुकेशन कन्सल्टेन्सीको मूख्य प्रायोजनमा यो पटकको ‘बेस्ट भ्यालेन्टाइन कपल’ रेडियो गेम शो संचालनमा आएको हो । माया गर्ने जोडीहरुले एसएमएसमार्फत यो रेडियो गेम शोका लागि ‘जोडी दर्ता’ गर्नुपर्ने एफएमले जनाएको छ ।
‘यो रेडियो गेम शो अन्तरगत मायालु जोडिहरुले एसएमएसमार्फत सहभागिताको लागि आफ्नो जोडि दर्ता गराउनुपर्छ ।’ एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले भने–‘दर्ता भएका जोडीहरु मध्ये एफएमले लक्की ड्र गरेर १० दिनसम्म हरेक दिन साँझ ८ बजे ‘एक उत्कृष्ट मायालु जोडि’लाई छनौट गर्नेछ ।’ यसरी छानिएका उत्कृष्ट १० जोडीमध्येबाट प्रणय दिवसको दिन एक जना सर्वोत्कृष्ट जोडी छानिनेछन् ।
एशियाकै उत्कृष्ट युवा ज्योतिष हरिहर अधिकारीले सर्वोत्कृष्ट जोडी छान्ने एफएमले जनाएको छ । उनले उत्कृष्ट जोडीहरुमध्ये ज्योतिष शास्त्रबाट ‘लभ केमेस्ट्री’ मिलेको एक जोडीलाई सर्वोत्कृष्ट घोषित गर्नेछन् । यसरी छानिएका सर्वोत्कृष्ट जोडीले नगद १५ हजार रुपैँया सहित विभिन्न भ्यालेन्टाईन गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै अन्य उत्कृष्ट जोडीहरुले पनि नगद दुई हजार रुपैँया र भ्यालेन्टाईन गिफ्ट प्राप्त गर्ने एफएमले जनाएको छ ।
रेडियो गेम शो मा दर्ता हुनका लागि जोडीहरुले मोबाईलको मेसेज बक्समा गई BIG<space>FM<space> जोडीको नाम लेखेर ३४३२१ मा पठाउनुपर्नेछ । जुनसुकै उमेर समुहका जोडीले यसमा आफ्नो नाम दर्ता गराउन सक्ने एफएमले जनाएको छ ।
