
पोखरा, २९ माघ-
खानेपानीको नियमित आपूर्ति नभएको भन्दै खानेपानी उपभोक्ताले लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको कार्यालयमा तालाबन्दी गरेका छन् । मानवजीवनको लागि अत्यावश्यक र संवेदनशील पानी आपूर्ति नभएपछि आक्रोशित उपभोक्ताको एक समूहले लेखनाथ १२ स्थित खुँदीमा रहेको कार्यालयमा बिहीबार बिहान ११ देखि ४ बजेसम्म तालाबन्दी गरेको हो ।
कार्यालयका कर्मचारीले महिनामा एक दुई दिनमात्र त्यो पनि मिटर रिडिङ गर्ने क्रममा पानी छोड्ने तर रिडिङ गरिसकेपछि आपूर्ति बन्द गर्ने गैरजिम्मेवार कार्य गरेको भन्दै आक्रोशित भएका हुन् । ढुंगेपाटनको बञ्जार्नीको चौतारादेखि भण्डारढिक जाने सडक र सो सडकदेखि ढुंगेपाटन २ नं. चोक जोडिने सडकलाइनका दायाँबायाँ करिब एक सय घरधुरीमा यस्तो समस्या रहेको स्थानीय सविन तिवारीले बताए ।
तिवारीको नेतृत्वमा गएको उपभोक्ताको समूहले तालाबन्दी गरेपछि समितिका पदाधिकारीले सोहीदिन देखि तत्कालै पानीको आपूर्ति गरिदिएको र सो आपूर्ति नियमित हुने तथा दीर्घकालीन निकासका लागि छिट्टै समितिले थप योजना बनाउने आश्वासन दिएका छन् । यसबारे समितिका सदस्य खेम पुनले अब समस्या हुन नदिने दाबी गरे ।
सो क्रममा कृष्ण पौडेल, अनुप गौतम, सुमन थापासमेतका युवा तथा स्थानीय उपभोक्ता कार्यालय पुगेका थिए । पानीको आपूर्ति नभएको त्यस क्षेत्र बाहेकका खुँदी ढुंगेपाटन क्षेत्रका सबै भागमा पानीको सहज आपूर्ति हुँदाहुँदै पनि आफ्नो क्षेत्रमा मात्र नियमित समस्या भएकोले सोको निकास लागि उपभोक्ताले वर्षौदेखि गुनासो गर्दैआएतापनि सोको सुनुवाई नभएको कारण उपभोक्ताको समूहले २३ माघमा समस्या निकासका लागि ज्ञापनपत्र बुझाएको थियो ।
त्यसमा सुनुवाई नभएपछि तालाबन्दी गरिएको स्थानीय सविन तिवारीले बताए । करिब ७ वर्ष अघि नेपाल सरकार र उपभोक्ताको संयुक्त लगानीमा निर्मित उक्त आयोजनाको थप सुधारका लागि विभिन्न स्थानमा पाइप मर्मत कार्य सुरु भएको जनाइएको छ ।
