
पोखरा, १३ फागुन-
महाशिवरात्रिका अवसरमा पोखरा र आसपासका शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
पोखराका प्रसिद्ध बिन्ध्यवासिनी मन्दिर परिसरको शिव मन्दिरका साथै छोरेपाटनस्थित गुप्तेश्वर महादेव, भलामस्थित हरिहर महादेव, सीतापाइलास्थित सदाशिवजी सिद्धेश्वर हरिहरलगायतका शिव मन्दिरमा भगवान शिवलाई दूध, जल र बेलपत्र चढाउन दर्शनार्थी लामबद्ध भएर उभिएका छन् ।
महाशिवरात्रिका दिन सामूहिक ब्रतबन्ध गर्ने चलनअनुरुप धेरै शिवालयमा सामूहिक ब्रतबन्धको कार्यक्रम पनि सञ्चालन भएको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर सीतापाइलाका अध्यक्ष ऋषिराम भण्डारीले बताए ।
भरतपोखरीस्थित सिलिङ्गे, मनियलडाँडा, धारापानी लगायतका स्थानमा पनि सामूहिक रुद्री पूजा र ब्रतबन्धका कार्यक्रम सञ्चालन भएका छन् ।
