
पोखरा, १५ फागुन-
सडक बाल आवाज नामक संस्थाले पोखरा देखि काठमाडौं सम्मको पैदलयात्रा गर्ने भएको छ । सडकका बालबालिकाहरुको अधिकार सम्बन्धी कार्य गर्न र उनीहरुको अधिकार संरक्षणका खातिर उक्त कार्यक्रमको आयोजना गरिएको बाल आवाजका अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिनुभयो ।
करिब २ सय १० किमि लामो पैदल यात्रा आगामी १८ गतेबाट सुरु हुनेछ । पृथ्वीचोकबाट सुरु हुने उक्त पैदल यात्रा तनहुँ, लम्जुङ, गोर्खा, धादिङ, नुवाकोट हुँदै काठमाडौंको बसन्तपुर दरबार स्कवायरमा पुगी समापन हुने गुरुङले जानकारी दिनुभयो । यात्रा ९ दिनको हुनेछ ।
पैदल यात्रामा भेटिने त्यस क्षेत्रका बालबालिकाहरुको अवस्थाको जानकारी लिने र हक अधिकारको बारेमा छलफल गरीने गुरुङले बताउनुभयो । ‘नेपालमा भएका बालबालिकाको हकहित र अधिकारको बारेमा जनचेतना जगाउने उद्देश्य हो,’ गुरुङ्ले भन्नुभयो, ‘यसको लागि कास्की जिल्ला महिला तथा बालबालिका कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जानकारी लिइसकेका छौं ।’
पैदल यात्रामा सडक बाल आवाजका अध्यक्ष गुरुङ, कोषाध्यक्ष देवेन्द्रकुमार गुरुङ र सचिव जरिना गुरुङ रहने जनाइएको छ । आफुहरुको पैदल यात्रा पछि सडक बालबालिकाहरुको स्थितीमा सामान्य भएपनि सुधार आउने अपेक्षा गरिएका छन् ।
