स्ववियु चुनावमा होमिए विद्यार्थी, यस्तो छ कास्कीका ६ क्याम्पसमा रौनक

867
0
Share:

रञ्जन अधिकारी पोखरा, १६ फागुन / त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आठ वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्ततः यही फागुन १८ गते हुँदैछ । पश्चिमाञ्चलकै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस सहित यहाँका छ क्याम्पसमा चुनावी सरगर्मी बढेको छ ।

निर्वाचन मिति नजिकिरहँदा चुनावी चहलपहलले क्याम्पसमा छुट्टै रौनक थपेको छ । प्रतिष्ठाको केन्द्र बनेको पिएन क्याम्पसमा सम्पूर्ण संगठनले ध्यान केन्द्रित गरेको छ । यसका साथै पोखराको पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस, वनविज्ञान अध्ययन संस्थान, जनप्रिय क्याम्पस र विन्दुवासिनी संस्कृत विद्यापीठमा तुल, ब्यानर र पोष्टर टाँगिएको देख्न सकिन्छ । सुरक्षार्थ ठाउँठाउँमा सुरक्षाकर्मी परिचालित छन् । उम्मेदवार छनौटको समयसम्म आफैबीच लडेका विद्यार्थी संगठन अहिले भने संयमित भएर अघि बढेका छन् ।

निर्वाचन तालिका अनुसार शनिबार कास्कीका ६ वटै क्याम्पसमा सबै विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् । मुलुकका विभिन्न क्याम्पसमा तालाबन्दी भएर निर्वाचन कार्यतालिका प्रभावित भईरहँदा कास्कीमा भने विद्यार्थीसंगठनबीच विवाद छैन । धादिङ लगायतका केहि जिल्लाका क्याम्पसमा निर्विरोध तथा निर्वाचनकै आधारमा पूर्वनिर्धारित मिति फागुन १४ मै स्ववियू नेतृत्व समेत चयन भईसकेको छ ।

शुक्रबार राति अबेरसम्म ठूलो कसरतका बीच उम्मेदवार चयन गरेर विद्यार्थी संगठन चुनावमा होमिएका छन् । त्रिवि नियमावली अनुसार हरेक दुई वर्षमा निर्वाचन हुनुपर्ने भएपनि २०६५ सालपछि निर्वाचन हुन नसकेको सन्दर्भमा २८ वर्षे उमेर हद, मिश्रित निर्वाचन प्रणाली नयाँ प्रावधान राखेर चुनाव हुनेछ । उपाध्यक्ष पद र सहसचिव पदका साथै सदस्यहरु पनि समानुपातिक आधारमा चयन हुनेछ ।

शनिबार उम्मेदवारी दर्ता, आईतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । त्रिवि कार्यकारी परिषद् बैठकले १८ गते हुने निर्वाचनको समय सम्बन्धित क्याम्पसलाई तय गर्ने अनुमति दिएको छ । पोखराका छ क्याम्पसमा १२ हजार बढि मतदाता छन् ।

त्रिवि कार्यकारी परिषदका अनुसार ३ हजार १ देखि माथि विद्यार्थी मतदाता रहेका क्याम्पसमा २१ जनाको कार्यसमिति, १ हजार १ देखि ३ हजारसम्म विद्यार्थी मतदाता रहेको क्याम्पसमा १९ सदस्यीय, २०१ देखि हजारसम्म विद्यार्थी मतदाता रहेका क्याम्पसमा १५ सदस्यीय र २०० कम विद्यार्थी मतदाता रहेका क्याम्पसमा ११ सदस्यीय स्ववियु गठन हुनेछ ।

पृथ्वीनारायण क्याम्पसः

पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियू, नेविसंघ र नयाँ शक्ति विद्यार्थीको संयुक्त प्यानल, अखिल क्रान्तिकारीका साथै अनेरास्ववियू क्रान्तिकारी (विप्लव) र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौं पनि चुनाव लड्दैछ । पृथ्वीनारायण क्याम्पसमा आठ हजार १६ मतदाता छन् ।

पिएनमा यसअघिका सबै २३ पटकको निर्वाचनमा अनेरास्ववियूले नेतृत्वमा कब्जा जमाएको छ । २०४० साल अघि संयुक्त प्यानलमा नेतृत्व हत्याएको अनेरास्ववियू त्यसपछि निरन्तर एक्लै चुनावी मैदानमा छ । अनेरास्ववियूले पहिलो पटक छात्रालाई सभापतिमा उठाएको छ । एमाले आमन्त्रित स्थायी समिति सदस्य सोमनाथ अधिकारी, पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री, सांसद तुलबहादुर गुरुङ, पूर्व मन्त्री खगराज अधिकारी, बाम बिश्लेषक झलक सुवेदी, युवा नेता रविन्द्र अधिकारी, युवा संघ अध्यक्ष राजिव पहारी  पिएनमा स्ववियू नेतृत्व गरेका नाम हुन् ।

२३ पटकसम्म स्ववियूमा झण्डा गाड्न सफल अनेरास्ववियूले पहिलो पटक छात्रालाई नेतृत्वमा पु¥याएर ईतिहास रच्न चाहन्छ । अनेरास्ववियू क्रान्तिकारीले पनि छात्रालाई नै उम्मेदवार बनाएको छ । यसअघि, क्याम्पसका स्ववियू सभापति समेत रहेका अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष रश्मी आचार्यका अनुसार स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त करिब तीन दर्जन क्याम्पसमा महिलालाई अघि सारिएको छ । अनेरास्ववियुको केन्द्रीय अध्यक्ष नै महिला भएकाले पनि स्ववियु उम्मेदवारमा महिलालाई बढी प्राथमिकता दिएको बताइन्छ । आफ्नो एकछत्र बर्चश्व कायम गरेको पिएनमा अनेरास्ववियूकै दबदबा कायम रहने उनको दाबी छ ।

स्ववियू निर्वाचनको इतिहासमा आफ्नो अपराजित यात्रा जारी राखेको अनेरास्ववियू विरुद्ध नेवि संघले पनि नयाँ शक्तिको सहकार्यमा यो वर्ष क्रमभंग गर्ने दाबी गरेको छ । नेविसंघका केन्द्रिय सदस्य भानु ढकालले पिएनमा अनेरास्ववियूको एकछत्र राज यसपटक तोड्ने दाबी गरे । ‘फे¥यौं राजनीतिक व्यवस्था, अब बदल्नुछ शिक्षा, सिर्जनशील स्ववियू, नेविसंघको ईच्छा’ नाराका साथ चुनावमा होमिएको नेविसंघले ‘समाजमा शान, बजारमा काम र खल्तीमा दाम’ शिक्षा हुनुपर्ने मुलमन्त्र तय गरेको ढकालले जनाए ।

अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य एवं कास्की ईन्चार्ज कृष्णराज दाहालले अखिल क्रान्तिकारीले दोस्रो पटक सहभागिता जनाउँदै गर्दा कास्की ६ वटै क्याम्पसमा सभापति नै जित्ने गरी आधार तयार भएको दाबी गरे । उनले अखिल क्रान्तिकारीले नै विद्यार्थीको हकहितका सवालमा काम गर्न सक्ने उल्लेख गरे ।

नेकपा एमाले निकट अनेरास्ववियूले पृथ्वीनारायण क्याम्पसमा सरिता पुरीलाई स्ववियू सभापतिको उम्मेदवार बनाएको छ । उनी अनेरास्ववियूको सचिवालय सदस्य एवं गण्डकी ईञ्चार्ज हुन् । सचिवमा केन्द्रिय सदस्य भरत कोने गुरुङ र कोषाध्यक्षमा त्रिवि क्याम्पस कमिटि संयोजक विवेक देवकोटालाई उम्मेदवार उठाएको छ । समानुपातिकतर्फ उपाध्यक्षमा क्याम्पस एकाईका पूर्व अध्यक्ष अशोक पौडेल र सहसचिवमा वर्तमान अध्यक्ष राजन शर्मा पराजुलीलाई पठाएको छ । प्रत्यक्ष तर्फ सदस्यहरुमा विजय पौडेल, प्रतिक्षा पौडेल, अप्शा खातुन, विष्णु पोखरेल, सन्तोष न्यौपाने, नितिनराज कट्टेल, दिनेश ढुंगाना र समिर बराल छन् । पृथ्वीनारायण क्याम्पसमा २१ सदस्यीय समिति बन्नेछ ।

काँग्रेस निकट नेवि संघ र नयाँ शक्ति पार्टी अन्तर्गतको विद्यार्थी यूनियन एक भएका छन् । स्ववियू सभापतिको उम्मेदवार राजेश हमाल (रेशम) रहेका छन् । सचिव नयाँ शक्तिले पाएको छ र तारा जिसीलाई उम्मेदवार बनाईएको छ । कोषाध्यक्षमा सदिक्षा आचार्य उठेकी छन् । प्रत्यक्षतर्फका सदस्यहरुमा खगेन्द्रबहादुर रोक्का, महेशमणि भण्डारी, नवराज शर्मा, रक्षा गिरी, प्रदीप चापागाईं नेविसंघबाट छन् भने कञ्चन परियार, मिलन सुवेदी र विशाल तिमिल्सिना नयाँ शक्तिका तर्फबाट छन् ।

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले पृथ्वीनारायण क्याम्पसमा स्ववियू सभापतिको उम्मेदवारका रुपमा प्रविणा अधिकारीलाई उभ्याएको छ । अनेरास्ववियूले पहिलो पटक छात्रा उम्मेदवार तय गरिरहँदा क्रान्तिकारीका तर्फबाट पनि छात्रा नै प्रतिष्पर्धी छन् । सचिवमा त्रिदिप गुरुङ र कोषाध्यक्षमा बसन्त भट्टचन उम्मेदवार छन् । समानुपातिक मतको उपसभापतिमा सन्तोष नेपाली र सहसचिवमा सञ्जय शर्मालाई अघि सारेको छ । प्रत्यक्षतर्फ सदस्यहरुमा शौरभ कुँवर न्यौपाने, प्रकाश अधिकारी, खगेन्द्र मल्ल, ढाकाराम पौडेल, सुजन बास्तोला, रविकुमार राई, पुष्प ढकाल र सरस्वती थापा छन् ।

अखिल छैटौंका तर्फबाट पृथ्वीनारायण क्याम्पसमा सभापति पदमा प्रताप पौडेल, सचिवमा डियस सिञ्जाली, कोषाध्यक्षमा हिमा श्रीष उठ्दैछन् । प्रत्यक्षतर्फ सदस्यहरुमा जितेशबहादुर थापा, दिलकुमारी थापा, प्रभात पौडेल, मायादेवी आले, मिना गुरुङ, शकुन्तला शर्मा, सजना शर्मा (रजनी) र सुजन गौतम रहेका छन् ।

विप्लव नेतृत्वको नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीले पृथ्वीनारायण क्याम्पसमा मिलन राईलाई सभापतिको उम्मेदवारका रुपमा उठाएको छ । सचिवमा काजी गुरुङ र कोषाध्यक्षमा प्रवल भण्डारी छन् ।

जनप्रिय क्याम्पस:

पहिलो पटक स्ववियू चुनाव हुन लागेको जनप्रिय बहुमुखी क्याम्पसमा २२ सय ८९ मतदाता छन् । १९ सदस्यीय समिति बन्नेछ । विजयका साथ इतिहास रच्ने उद्देश्यले अनेरास्ववियूले सभापतिमा विनोद भण्डारी, सचिवमा सुनिल पोखरेल, कोषाध्यक्षमा करुणा गुरुङ उम्मेदवार बनाईएको छ । यस्तै प्रत्यक्ष सदस्यको चुनावी मैदानमा विनय पराजुली, एकराज आचार्य, सपना सुवेदी, प्रमिला आचार्य, शिव पराजुली, सविना बिक र राजु तिमिल्सिना होमिएका छन् ।

जनप्रिय क्याम्पसमा पनि नेबि संघ र नयाँ शक्ति विद्यार्थी मिलेका छन् । आशिक गुरुङलाई सभापति पदको उम्मेदवार बनाईएको छ । सचिवमा ध्रुबराज अधिकारी छन् भने कोषाध्यक्षमा नयाँ शक्ति विद्यार्थी युनियनका सचिन रानाभाट उम्मेदवार छन् । सदस्यहरुमा नेवि संघका सविना तिमिल्सिना, सुशान्त बाटाजु, किशोर भण्डारी, सागर रेग्मी, नविन पौड्याल छन् भने नयाँ शक्तिका तर्फबाट सुमित्रा पौडेल र सम्राट पौडेल प्रत्यक्ष तर्फ सदस्य पदमा उम्मेदवार छन् ।

अखिल क्रान्तिकारीले सभापति पदमा विशाल तामाङ, सचिवमा ईश्वर पौडेल तथा कोषाध्यक्षमा मनु थापालाई उठाएको छ । सदस्यहरुमा राजेश वाईबा, शंकर क्षेत्री, रबिन आचार्य, स्नेहा पौडेल, सन्देश श्रेष्ठ, सन्देश गुरुङ र मेखबहादुर गुरुङ चुनावी मैदानमा छन् ।

विप्लप निकट क्रान्तिकारीले हरि पौडेल रोहितलाई सभापतिमा उम्मेदवार बनाएको छ । सचिवमा उमा खत्री, कोषाध्यक्षमा सन्देश बराल रहेका छन् ।

पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस:

पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा १४ सय २९ जना मतदाता छन् । यो नवौं पटकको निर्वाचन हो । यसअघि आठ पटकमा अनेरास्ववियू तीन, नेवि संघ तीन र क्रान्तिकारीले दुई पटक नेतृत्व गरेको छ ।

अनेरास्ववियूले ईञ्जिनियरिङ क्याम्पसमा सभापतिमा ईन्द्र पौडेल, सचिवमा सम्राट पौडेल, कोषाध्यक्षमा शितल शर्मा उम्मेदवार छन् । सदस्यहरुमा कञ्चन पाण्डे, सुनिल कार्की, प्रशान्त कार्की, श्रीधर डाँगी, किरण तिवारी, अनिल मण्डल, सनम श्रेष्ठ प्रतिष्पर्धामा उत्रनेछन् । १९ सदस्यीय समिति बन्नेछ ।

ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस (डब्लूआरसी), विन्दुबासिनी संस्कृत विद्यापीठ, बनविज्ञान अध्ययन संस्थानमा नेविसंघले नयाँ शक्तिको नैतिक समर्थन पाएको छ । डब्लूआरसीमा सभापतिमा सुजित कोईराला, सचिवमा विजय झा, कोषाध्यक्षमा कमला द्वारे तथा सदस्यहरुमा प्रथम खड्का, सुजन पौडेल, आध्या भट्टराई, स्वरुप सिंह, सुमन बिसी, प्रविण गुरुङ र राजु थापामगर छन् ।

अखिल क्रान्तिकारीका साधुराम लामिछाने सभापतिको उम्मेदवार छन् । सचिवमा कृष्ण दाहाल, कोषाध्यक्षमा अमरेन्द्रकुमार मण्डल तथा सदस्यहरुमा दामोदर दाहाल, अशोक कुमार सिंह, मनिका न्यौपाने, प्रशान्त अर्याल, अर्जुन नेपाल, अञ्जली न्यौपाने र सुधिर रानामगर प्रत्यक्षतर्फ उठेका छन् ।

क्रान्तिकारी विप्लवले पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पसमा सभापतिमा पदमा मात्रै संगठन अघि बढेको छ । उसले सुनिल राईलाई उम्मेदवार बनाएको छ । पञ्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पसमा सभापतिमा सुदर्शन आचार्य चुनावी मैदानमा छन् । सदस्यहरुमा अभयराज पुरी र सुवास कालाथोकी उम्मेदवार बनेका छन् ।

बन विज्ञान अध्ययन संस्थान:

१३ औं निर्वाचनको तयारीमा रहेको बनविज्ञान अध्ययन संस्थानमा ३४८ जना मतदाता छन् । २०४३ देखि चुनाव हुन थालेकोमा १२ पटकमा १० पटक अनेरास्ववियू र दुई पटक नेविसंघ हाबी भएको छ ।

संस्थानमा अनेरास्ववियूका तर्फबाट सभापति उम्मेदवारमा विशाल अर्याल छन् । सचिवमा सञ्जय तामाङ तथा कोषाध्यक्षमा प्रतिभा जिसीलाई उठाईएको छ । प्रत्यक्ष सदस्यहरुमा प्रवेश अधिकारी, साधना रानाभाट, सुस्मिता गौतम, भरत रेग्मी र सुरज भट्ट छन् । १५ सदस्य रहेको कार्यसमिति चयन हुनेछ ।

नेविसंघका तर्फबाट रमेश बोगटी सभापति उम्मेदवार छनु । सचिवमा क्षितिज पौडेल, कोषाध्यक्षमा विनिता कार्की तथा सदस्यहरुमा प्रशान्त श्रेष्ठ, सुनिल सुवेदी, प्रज्ञा खनाल, देवेन्द्र ढकाल र सुजित खनाल रहेका छन् ।

बन विज्ञान अध्ययन संस्थानमा अखिल क्रान्तिकारीबाट सभापतिमा रोहितराज झा, सचिवमा योगेश पन्त, कोषाध्यक्षमा सोनम भट्टराई तथा सदस्यहरुमा निरञ्जन पौडेल, आभाष पौडेल, भूमि थारु, बालकृष्ण पण्डित र समिक्षा अर्याल छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान:

चिकित्साशास्त्र अध्ययन संस्थान (नर्सिङ) मा दुई सय ६५ मात्रै मतदाता छन् । नर्सिङ क्याम्पसमा १२ औं पटक स्ववियू चुनाव हुँदै गर्दा यसअघिका सबै ११ पटक नै अनेरास्ववियूले नेतृत्व गरेको छ । २०६५ मा मिलेर अघि बढेका बेला पनि अनेरास्ववियूले नै सभापति पद जितेको थियो ।

अनेरास्ववियूले विष्णु देवकोटालाई सभापतिको उम्मेदवार बनाएको छ । सचिवमा एलिश राना, कोषाध्यक्षमा संगिता भट्टराई तथा सदस्यहरुमा ममता शर्मा, दिक्षा कुँवर, एलिशा श्रेष्ठ, पुष्पा थकाली र सुदिपा रिजाललाई उम्मेदवार तय गरेको छ ।

नेविसंघबाट सभापतिमा अनामिका राजलक्ष्मी बस्नेत, सचिवमा वर्षा भुजेल, कोषाध्यक्षमा आरती जिसी तथा सदस्यहरुमा दिक्षा कोईराला, अनिता बस्नेत, दर्शना माकाजु, सुनिता तामाङ, जिसिका सिजापति छन् । एक सदस्य नयाँ शक्ति निकटको रहने नयाँ शक्ति विद्यार्थी यूनियनका केन्द्रिय सदस्य नेत्र चापागाईंले बताए । अखिल क्रान्तिकारी र क्रान्तिकारी (विप्लव) भने सहभागी हुनेछैन ।

विन्दुबासिनी संस्कृत विद्यापीठ:

सातौं पटक निर्वाचन हुने तयारीमा रहेको विन्दुवासिनी संस्कृत विद्यापीठमा अहिलेसम्म नेविसंघले एकछत्र नेतृत्व हात पारेको छ । क्याम्पसमा एक सय दुई जना मात्रै मतदाता छन् । यसपटक प्राज्ञिक विद्यार्थी र क्रान्तिकारीको सहयोगमा आफू हावी हुने अनेरास्ववियू कास्कीका अध्यक्ष शेखर गौतमले दाबी गरे ।

विद्यापिठमा अनेरास्ववियू, अखिल क्रान्तिकारी र प्राज्ञिक विद्यार्थी परिषद् मिलेर अघि बढेका छन् । सभापतिमा प्राज्ञिकका गोपाल गौतम, सचिवमा अनेरास्ववियूका सूर्यप्रसाद पौडेल र कोषाध्यक्षमा क्रान्तिकारीका मिनराज पौडेल चुनावमा होमिएका छन् । सदस्यहरुमा प्राज्ञिकका अमृत पौडेल र रामेश्वर न्यापाने तथा अनेरास्ववियूका पुरुषोत्तम खतिवडा चुनावी मैदानमा छैन ।

संस्कृत क्याम्पसमा नेविसंघबाट सभापतिमा केशव आचार्य, सचिवमा तारा पराजुली, कोषाध्यक्षमा भरत पोखरेल तथा सदस्यहरुमा गोकर्ण अर्याल, निदेशराज काफ्ले र देवेन्द्र उपाध्याय चुनावी मैदानमा उत्रिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: