
पोखरा, २४ फागुन-
लोककवि अलि मियाँका नाममा पोखरामा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानद्धारा सोमबार पत्रकार सम्मेलन आयोजना गरी पोखरा–१३ मा क्रियाशिल मुस्लिम युवा क्लवको संयोजनमा प्रतिष्ठानले पहिलो पटक सेभेन ए साइड फुटबल कप प्रतियोगिताको आयोजना गर्ने बताएको छ । चैतको १३ देखि १९ गतेसम्म पोखराको माछापोखरीस्थित खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा ४५ वटा टिमले सहभागिता जनाउने आयोजक प्रतिष्ठानले बताएको छ। प्रतियोगिताको विजेताले एकलाख २५ हजार र उपविजेताले ७० हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । त्यस्तै, प्रतियोगिताभरीकै सर्वोत्कृष्ठ खेलाडीले ३० हजार र उत्कृष्ठ डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र गोलकिपरले समान १५ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछन् ।
लोककवि अलि मियाँको पदचापलाई पछ्याउँदै फुटबल प्रतियोगिता गर्न लागिएको संयोजक अफजल हसन मियाँले बताए। ‘स्वर्गिय अलि मियाँ नाताले बाजे हुनुहुन्थ्यो,’ अफजल हसनले थपे, ‘जीवनभर नेपाली लोक साहित्यको साथै संस्कृतिको सम्बद्र्धन र संरक्षण गर्ने कार्यमा आफ्नो जीवन समर्पण गर्नुभएका उहाँलाई प्रेरणाको स्रोत मान्दै क्लबले फुटबल प्रतियोगिताको आयोजना गर्न लागेका हौं ।’
प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले प्रतिष्ठानले देशका बिभिन्न स्थान लगायत भारत, बंगलादेश र अमेरिकामा सयौं सांस्कृतिक कार्यक्रमहरु सम्पन्न गरिसकेको र प्रतिष्ठानद्धारा करिव दुईसय ५० भन्दा बढि स्रष्ठाहरु सम्मानीत भइसकेको जानकारी दिए । हनिफ मियाँले अलि मियाँको पदचापलाई पछ्याउँदै मुस्लिम युवा क्लबको प्रस्तावलाई श्वीकार गरेर फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।
‘सबै क्षेत्रका नेपालीहरुका लागि अलि मियाँ प्रेरणाका श्रोत हुनुहुन्थ्यो,’ हनिफले अलि मियाँको बारेमा स्मरण गर्दै भने, ‘युवाहरु नै देशका खम्बा हुन र देश जोगाउने जिम्मा युवाहरुको काँधमा सुम्पनुपर्छ भन्ने अलि उहाँको धारणा थियो।’प्रतियोगिता सम्पन्न गर्न ६ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि टिमका लागि ५ हजार समावेशी शूल्क लाग्ने प्रतिष्ठानले जनाएको छ । आयोजक प्रतिष्ठानले प्रतियोगितालाई आगामी बर्षमा पनि निरन्तरता दिने जनाएको छ ।
