महेश भण्डारी र रश्मी अधिकारी: एकअर्काको साथ र सहयोगले बनेको ‘स्मार्ट जोडी’

Share:

बिग न्यूज
पोखरा, २५ फागुन । बिग एफएमका अध्यक्ष महेश भण्डारी तथा किंग्स् इन्स्टिच्यूटकी म्यानेजिङ डाइरेक्टर रश्मी अधिकारीको जोडी ‘स्मार्ट जोडी’को रुपमा सम्मानित भएको छ । महिलाहरुद्धारा संचालित रेडियो जननीले तेस्रो वार्षिकोत्सवको अवसर पारेर महेश र रश्मीको जोडीलाई ‘स्मार्ट जोडी’को रुपमा सम्मान गरेको हो ।

रेडियो जननीले यो जोडीलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेको हो । छुट्टाछुट्टै व्यवसायमा लागेपनि एक अर्काको सहयोगका कारण दुवैजना सफल व्यवसायी र उद्यमी बन्न सफल भएको भन्दै रेडियोले यो जोडीलाई स्मार्ट जोडीको रुपमा छनौट गरेको हो ।

तनहुँ जामुनेकी रश्मी र पोखरा मझेरीपाटनका महेशबीच २०६० सालमा विवाह भएको थियो । उनीहरुको हाल एक छोरा र छोरी छन् । १० वर्षे बैंकिङ अनुभव लिएकी रश्मी हाल आफ्नै व्यवसाय संचालन गरिरहेकी छन् । उनी किंग्स् इन्स्टिच्यूटको प्रबन्ध निर्देशक हुन् भने स्वागतनगर चाउथेमा उनकै लगानीमा सेप फिटनेस सेन्टर संचालनमा ल्याएकी छन् । रश्मी स्वागत दिदीबहिनी समुहको कोषाध्यक्ष हुन् भने उनी पृथ्वी सहकारीको महिला संयोजक भएर सामाजिक काममा आवद्ध छिन् ।

शैक्षिक परामर्श केन्द्र किंग्स् इन्स्टिच्यूटका संचालक समेत रहेका बिग एफएमका अध्यक्ष महेश भण्डारी पनि दैनिक १८ घण्टाभन्दा बढि काममा व्यस्त हुन्छन् । यद्यपी श्रीमान् श्रीमती नै व्यवसायमा लाग्दा पनि पारिवारीक रुपमा व्यवस्थित रुपमा अगाडि बढिरहेको यो जोडीलाई ‘नमुना’ भन्दै रेडियोले ‘स्मार्ट जोडी’को रुपमा सम्मान गरेको हो ।

रेडियोले सम्मान गरेसँगै यो जोडीले खुशी व्यक्त गरेको छ । एकअर्कालाई साथ दिएमात्रै पारिवारीक र व्यवसायिक जीवन सुखमय हुने उनीहरुले प्रतिक्रिया दिए । रेडियोले एकअर्कालाई अझै स्मार्ट बनाउन हौसला प्रदान गरेको भन्दै उनीहरुले धन्यबाद ज्ञापन गरेका थिए ।

महेश र रश्मीको जोडीसँगै रेडियोले सुरेन्द्र परियार र रोजी भुषालको जोडीलाई पनि ‘स्मार्ट जोडी’को रुपमा सम्मान गरेको थियो । पत्रकार नारायण कार्कीको सँयोजकत्वमा रहेको ६ सदस्यीय छनौट समितिले यो दुई जोडीलाई ‘स्मार्ट जोडी’को रुपमा छनौट गरेको थियो ।

रेडियोले वार्षिकोत्सवको अवसरमा विभिन्न ११ वटा विधामा अवार्ड वितरण गरेको थियो । यस्तै उसले समाजमा विभिन्न हिसाबले योगदान पुर्याएका महिलाहरुलाई सम्मान समेत गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: