लमजुङका राजनीतिक दलले भनेः ‘राजनीतिक बहानामा विद्यालयको पठनपाठन अवरुद्ध गर्दैनौँ’

313
0
Share:

श्यामशितल परियार
लमजुङ, २६ फागुन-
लमजुङको सुन्दरबजार नगरपालिकामा रहेका प्रमुख राजनैतिक दलका प्रमुखहरुले विद्यालयहरुमा कुनै पनि राजनीतिक हस्तक्षेप नगर्ने बताएका छन् । सुन्दरबजार नगरपालिका–४ पैह्रेमा रहेको भविष्य निर्माण माध्यमिक विद्यालयमा आयोजित विद्यालय शान्ति क्षेत्र अभिमुखीकरण कार्यक्रममा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

नेपाली कांग्रेस नगर कार्य समिति सुन्दरबजारका सभापति द्धारिका मिश्र, एमाले नगर कमिटि सुन्दरबजारका अध्यक्ष जनकराज मिश्र, राप्रपाका टिकाराम अधिकारीले निर्वाध रुपमा पढ्न/लेख्न पाउनु विद्यार्थीको अधिकार रहेकाले कुनै पनि राजनीतिक बहानामा विद्यालयको पठनपाठन अवरुद्ध नगरिने प्रतिवद्धता जनाएका छन् ।

उनीहरुले विद्यालयमा कुनैपनि राजनैतिक गतिविधी सञ्चालन नगर्ने पनि बताएका छन् । अभिभावक र विद्यार्थीहरुले पनि विद्यालयमा राजनीतिक विषयलाई लिएर पठनपाठन अवरुद्ध गर्न नहुनेमा जोड दिएका छन् ।

राजनैतिक दलले जनाएको प्रतिवद्धतालाई जिल्ला शिक्षा कार्यालय लमजुङका जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमालले खुलेरै प्रसंशा गरे । लमजुङमा जनज्योति मावि बाग्लुङपानीलाई पहिलोपटक विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको उल्लेख गरे ।

जिल्ला शिक्षा अधिकारी कमालले भने, ‘कुनैपनि हिंंसात्मक, राजनैतिक गतिविधि सञ्चालन नभएको, भेदभावमुक्त वातावरण सिर्जना भएको विद्यालयलाई नै विद्यालय शान्ति क्षेत्र भनिन्छ ।’

उनले बालबालिकाको भविष्य सुनिश्चित नभई राज्यको भविष्य सुनिश्चित नहुने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी कडेँलले बालबालिकाको पढ्ने/लेख्ने अधिकारलाई कसैले अवरोध गर्न नहुनेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्
Share: