
रञ्जन अधिकारी
पोखरा, ११ चैत-
‘गाली गर्दै ताली बजाउने प्रवृत्ति जबसम्म रहन्छ । लोकदोहोरीको नाममा आउने गीत यस्तै हो । भिडियो यस्तै हेरि नसक्नुको आईरहन्छ ।’ लोकस्रष्टा रमेश बिजीले मनको तीतो ओकले– ‘नाङ्गिरहने, हेरिरहने भएपछि बजार बढेको नाममा यसले प्रोत्साहन पाईरहन्छ । वास्तविक लोक सिर्जना लोप हुन्छ । यस्ता ऐजेंरु सबै मिलेर मास्नुपर्छ ।’ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष समेत रहेका बिजीले प्रतिष्ठान गण्डकीको पत्रकार र कलाकारबीचको अन्तक्र्रियामा पत्रकारलाई सुझाव त दिने नै भए । ‘उनले दर्शक उचाले, उहाँ वरिष्ठ गायक, चर्चित कलाकार भनेर पत्रकारहरु नै लेखिदिनुहुन्छ । एक पटक गीत निकालेर वर्षौसम्म त्यसको नाममा ब्याज खानेहरु अघि बढेका छन् ।’ बिजीले भने– ‘लोकगीत विकृत गर्नेहरुलाई ठाउँ नदिनुस् । कसरी उनीहरु हौसिन्छन् ?’
बिजीले लोकदोहोरी गीत, भिडियो उत्पादनमा सेन्सरको व्यवस्था नभएकाले यसरी परिवारका साथ हेर्नै नसक्ने भिडियो र सुन्नै नसक्ने छाडा शब्द हाबी भएको स्विकार गरे । ‘सबैले प्रतिष्ठानले के गरेको छ भनेर भन्छन् । तर हामीमा कारबाहीको अधिकार नै छैन । सचेत गराउने हो । संस्थागत आदेश मात्र हो । दण्ड सजाय गर्ने हैसियत हामीमा छैन । राज्यले तुरुन्त सोचोस्’ उनले भने– ‘रेकर्डिङ स्टुडियो, एरेन्जरलाई समेत हामीले सचेत गराएका छौं । सञ्चार क्षत्रले पनि यसलाई रोकोस् ।’ तीजको नाममा बजारमा निस्कने गीतहरुले तीजको मौलिकतालाई मात्रै नभई असारे गीतलाई समेत अतिक्रमण गरेको र यसमा महिला सर्जक भनिनेहरु पनि उत्तिकै दोषी रहेको उनको भनाई छ । ‘उहाँहरुको चाड हो । मौलिकता बचाउनुस् भन्यौं भने उहाँहरुलाई नै नाच्न केटा चाहिन्छ, गाउन केटा चाहिन्छ ।’ बिजीले वास्तविकता ओकले– ‘प्रतिष्ठानका पदाधिकारी आउने कायृक्रममा मलाई नबोलाउनुस् भनेर छाडा गीत गाउने, नाच्नेहरुले भन्दा उद्योग वाणिज्य संघका आयोजकले उनीहरु नै चाहिने तर हामी नचाहिने तीतो यथार्थता भोगेका छौं ।’
एल्बम किन्ने जमाना हराईसकेका बेला मेला महोत्सवले कलाकारलाई केहि उपार्जन गरेपनि व्यवस्थित हुन नसकेको उनले गुनासो गरे । केन्द्रिय अध्यक्ष बद्री पंगेनीलाई ३० हजारमा महोत्सवमा लगिएपनि खाममा १८ हजार मात्रै रहेको, सचिव राधिका हमाल लमजुङ महोत्सवमा ठगिएको दृष्टान्त दिँदै स्थानीय स्तरमा कति कलाकार ठगिए भन्ने हिसाब नै नरहेको सुनाए ।
प्रतिष्ठानका पूर्व अध्यक्ष वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले पनि लगानीकर्ता कलाकारको अगुवा बन्ने परिपाटीले वास्तविक कलाकार गुमनाम भएको बताए ।
‘सञ्चारकर्मीले स्टुडियोमा बोलाएर प्रत्यक्ष गाउन भनिदिनुस्, अरुका शब्द, स्वरमा कलाकार भनिएकाहरु अनि फेला पर्छन्’ न्यौपानेले भने– ‘अहिले केटाकेटी पाल्न युट्युबमा मनपरी शीर्षक राख्ने, मनलाग्दी भिडियो बनाउनेहरुलाई मरेपछि सम्झने गरी काम गर्न आग्रह गर्दछु ।’ अलिमियाँ, धर्मराज थापा, झलकमान गन्धर्व हुँदै हरिदेवी कोईराला, नारायण रायमाझीसम्म लोकगीतले मर्म बोकेपनि अहिलेको पुस्ता लोकगीतको नाममा आफ्नै घाँटी रेट्ने अवस्थामासम्म पुगेको गुनासो पनि कार्यक्रममा गरियो ।
नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले राम्रा गीत पनि चल्ने उदाहरण दिँदै उनले जब सिर्जनशीलता मर्छ तब अराजकता र तडकभडताले स्थान पाउने बताउ । श्रेष्ठले कलाकारको घाँटी कलाकारले नै अठ्याएको बताए । मेलामहोत्सवमा सिण्डिकेट र ठेक्का प्रवृत्तिका कारण आफ्ना गोजीका नामले मात्र ठाउँ पाउने गरेको भन्दै उनले मिडियाले बिग आईकन, ईमेज लोककलाकार, रेडियो नेपाल गायन प्रतियोगिता आयोजना गरेर कलाकार जन्माएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि कास्कीका स्थानीय विकास अधिकारी बलराम ढकालले हाम्रो मौलिकता गुम्दै गएकोमा चिन्ता व्यक्त गर्दै पत्रकार र कलाकारले आफ्नो धर्म छाड्न नहुने बताए । आफूलाई पत्रकारबाट भएको प्रहारप्रति दुःख व्यक्त गर्दै उनले व्यक्तिकेन्द्रित नहुन सुझाव दिए । पत्रकार समेत रहेकी संस्थापक केन्द्रिय कोषाध्यक्ष एवं सल्लाहकार शान्ति गुरुङले कलाकार र पत्रकारको सहकार्यले नै समाज बदल्न सक्ने बताईन् ।
सो अवसरमा पत्रकारहरुले लोकदोहोरी गीत, दृश्य, यसको मौलिकता र कलाकारको भूमिकाका बारेमा प्रश्न उठाएका थिए । टिक्न र बिक्न कलाकारले जे मन लाग्यो उही गर्ने, गीत भन्दा ग्ल्यामर हावी बनाउँदा भल्गारिटी बढेको, तीज पर्व भ्यालेन्टाईनमा प्रेमप्रस्ताव राख्ने जस्तो बनेको गुनासो गरेका थिए ।
प्रतिष्ठान गण्डकीले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मानपत्र र माला सहित बधाई ज्ञापन ग¥यो । गण्डकी तारा २०७३ एवं बिग आईकनका टप टेनमा पुगेका यमबहादुर नेपाली, ईमेज लोक कलाकार भ्युअर च्वाईस नरबहादुर रानालाई पनि सम्मान ग¥यो ।
प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकर विरही गुरुको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिस्ठान केन्द्रिय सदस्य जीवन दाहाल, प्रदेश संयोजक तारापति सुवेदी, अग्रज गायक कृष्ण देवकोटा, म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट, नायिका रन्जिता गुरुङको उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन महासचिव सुरेन्द्र गुरुङले गरेका थिए ।
