
पोखरा, १९ चैत-
अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरे पोखरामा सम्मानित भएका छन् । उद्योगपति एवं पूर्व सभासद् सूर्यबहादुर केसीको सुर्यप्रेम वहुउद्धेश्यीय समाजसेवा ट्रष्टले पिता समाजसेवी कीर्तिवहादुर केसीको स्मृतिमा स्थापना गरेको कीर्ति स्मृती पत्रकारिता पुरस्कारबाट घिमिरे शनिबार सम्मानित भएका हुन् ।
नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित उक्त पुरस्कार पहिलो पटक घिमिरेलाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समाजसेवी सूर्य बहादुर केसीले घिमिरेलाई सम्मानपत्र र एक लाख ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरे ।
यसअघि महासंघ कास्कीका सल्लाहकार बद्रिविनोद प्रतिकको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफारिशका आधारमा घिमिरेलाई पुरस्कृत गरिएको हो । घिमिरेले आफ्नो पत्रकारिता जीवनमा पहिलो पुरस्कार भएको स्मरण गरे । भारतमा पत्रकारिता गर्दा चार सय रुपैंया मासिक तलब रहँदा नै २५ हजार राशीको पुरस्कार पाउँदा पनि नलिएको उनले स्मरण गरे ।
सन १९८० देखी पत्रकारिता सुरु गरेका घिमिरे हाल काठमाण्डौवाट प्रकाशित अन्नपुर्ण पोष्ट दैनिकको प्रधान सम्पादक हुन् । भारतको पटनामा वसेर युनाईटेड न्युज एजेन्सीवाट उनले पत्रकारिताको सुरुवात गरेका थिए । उनले विविसि नेपाली सेवाको संवाददता, कान्तीपुर दैनिक र दि काठमाण्डौ पोष्ट र समय साप्ताहिकमा यस अघिनै संपादकको रुपमा काम गरिसकेका छन् ।
उनी नागरिक दैनिकको सस्थापक सम्पादक समेत हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका उनले अहिलेपनी भारतको ईण्डीयन एक्स्प्रेसमा साप्ताहिक रुपमा स्तम्भ लेख्दै आएका छन् । यस वाहेक उनले शुन्य समय नामक पुस्तक लगाएत थुप्रै कीर्तिहरु प्रकासनमा ल्याएका छन् । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा समारोहमा धेरै पटक सहभागिता जनाईसकेका छन् ।
कार्यक्रममा पुरस्कृत ब्यक्तित्वका बारेमा अन्नपूर्ण पोष्टका पोखरा ब्यूरो प्रमुख केशब शरण लामिछानेले जानकारी गराएका थिए भने प्रतिभा छनौट सम्बन्धमा छनौट समितिका संयोजक बद्रीविनोद प्रतिकले प्रकाश पारेका थिए । सो अवसरमा सल्लाहकार रामकृष्ण ज्ञवाली, रमेश पौडेल, ट्रस्टका तर्फबाट सन्तबहादुर गुरुङ, महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ, सचिव रामप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।
