
रञ्जन अधिकारी/पोखरा, २२ चैत-
नेपालमा बर्षेनी झण्डै साढे तीन लाख महिलाले गर्भपतन गराउने पाईएको छ । एक अध्ययन अनुसार वार्षिक तीन लाख २३ हजार महिलाले गर्भपतन गराउँछन् । नेपालका झण्डै ६२ प्रतिशत महिलालाई गर्भपतनबारे थाहा नै नहुँदा पनि यतिको संख्याले गर्भपतन गराउने एक अध्ययनले देखाएको छ । नेपालको कुल रहने गर्भमध्ये ३१ प्रतिशतले गर्भपतन गर्ने देखाएको छ ।
गर्भपतन पनि सुरक्षित रुपमा भए त आमाको स्वास्थ्यका लागि खतरनाक भएन । ५८ प्रतिशत गर्भपतन असुरक्षित तबरले हुने गरेको छ । वातावरण, स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) संस्था र अमेरीका स्थित गुडमाकर इन्टिच्युट नामक संस्थाले संयुक्त रुपमा गरेको ‘नेपालमा अनिच्छित गर्भ र गर्भपतनको स्थिति’ विषयक अध्ययनले यस्तो नतिजा देखाएको हो । सन् २०१४ मा गरिएको सर्वेक्षणबाट प्राप्त यो नतिजा नै पछिल्लो हो ।
अध्ययन अनुसार एक लाख ३७ हजारले मात्रै सुरक्षित गर्भपतन गरेका छन् । बाँकी एक लाख ८६ हजार महिलाले लुकिछिपी असुरक्षित रुपले सरकारद्वारा स्वीकृति नलिएका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीबाट तथा आफैंले गर्ने गरेको देखाएको छ ।
गर्भपतन गराएकामध्ये ८० हजारलाई समस्या देखिएकोले उपचारका लागि स्वास्थ्य संस्थामा जाने गरेको र तीमध्ये करिब ५४ हजार महिलाले भने मान्यता नपाएका स्वास्थ्य संस्थामा गर्भपतन गराएका कारण समस्यामा परेको पाइएको छ ।
नेपालमा वार्षिक १० लाख ४८ हजारले गर्भधारण गर्ने गरिएको र त्यसमध्ये ५० प्रतिशत इच्छा विपरितको हुनेगरेको सो अध्ययनले देखाएको छ । इच्छा विपरित गर्भ रहेकामध्ये ६२ प्रतिशतले गर्भपतन गर्ने गरेको समेत सो अध्ययनले देखाएको छ ।
अध्ययनले नेपालमा सन् २०१४ मा आधाजसो गर्भ अनिच्छत भएको र विकाश क्षेत्रअनुसार फरकफरक तथ्यांक देखाएको छ । जसअनुसार सबैभन्दा अगाडि मध्यमाञ्चल विकासक्षेत्र देखिएको छ । मध्यमाञ्चलमा मात्रै एक वर्षमा १ लाख ६३ हजार ९ सय १० जनाले गर्भपतन गराएका छन् । सबैभन्दा कम गर्भपतन गराउने सुदुरपश्चिमाञ्चलमा १५ हजार १५ जनाले गर्भपतन गराएको पाइएको छ ।
अध्ययनअनुसार पश्चिमाञ्चलले एक बर्षमा ४८ हजार ९सय ४८ जना, पूर्वाञ्चलमा ६७ हजार २९७ जना र मध्यपश्चिममा २७ हजार ८ सय ३० जनाले गर्भपतन गराएका थिए । यसरी गर्भपतन गराउनेहरूमा ३७ प्रतिशतले सूचिकृत सरकारीमा स्वास्थ्य गएर गर्भपतन गराएको पाइएको छ भने
निजीमा २९ प्रतिशत र गैरसरकारी संस्थाद्वारा सञ्चालित संस्थामा गएर गर्भपतन गराउने ३४ प्रतिशत रहेको छ । सन् १९९६ मा प्रति एक लाख जीवित जन्ममा मातृ मृत्युदर ५ सय ३९ रहेकोमा २०१३ मा आइपुग्दा यो घटेर १ सय ९० पुगेको छ ।
अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै कृपाका सहनिर्देशक तथा प्रमुख अनुसन्धानकर्ता डा. महेश पुरीले धेरैजसो गर्भपतनको मुख्य जड नै अनिच्छित गर्भ रहेको बताए । उनले गर्भपतनको सेवामा सबै महिलाहरूको सहज पहुच पु¥याउन अझै धेरै प्रयास गर्नु आवश्यक रहेको देखिएको उल्लेख गरे ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. तारानाथ पौडेल असुरक्षित गर्भपतनको अवस्था भयानक रहेको बताउँछन् । उनले राज्यले पनि चेतना विस्तारमा सहयोग, स्रोत साधनको पहुँचमा ध्यान दिनुपर्ने बताए । लैंगिक विभेद हट्न जरुरी रहेको उल्लेख गर्दै उनले छोरा नै चाहिने सामाजिक चलनले पनि छोरीलाई भ्रुण अवस्थामै हत्या गर्ने पाईएको बताए ।
नेपालमा सन २००२ देखि गर्भपतन सेवा शुरु गर्ने निर्णय भएपनि सन् २००४ देखि मात्र कार्यान्वयनमा आएको थियो । कानुनी मान्यता पाएको गर्भपतनको बारेमा झण्डै दुई तिहाई महिलालाई जानकारी नहुनु सबैको पहुँचमा सेवा उपलब्ध नहुनु, लैगिंक बिभेदका कारण महिलाहरूले आफै निर्णय गर्न नसक्नु, गर्भपतनप्रति समाजको धारणा सकारात्मक नहुनाले पनि महिलाहरू लुकेर असुरक्षित गर्भपतन गराउन बाध्य हुने गरेका छन् ।
गर्भपतन सामान्यत दुई प्रकारबाट गराइन्छ, औषधि खुवाएर र अप्रेशन गरेर । मेडिकल क्याक अर्थात् औषधि खुवाएर ९ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । कतिपयले आँफै मेडिकलबाट औषधि किनेर खाने र गर्भपतन गराउनेसम्म गरिरहेका छन् । यसले महिला स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । २० बर्षमुनिका महिलाले गर्भपतन गर्दा , धेरै पटक गर्भपतन गरेमा पाठेघर पातलो हुने, फुट्ने, पाठेघरमा बच्चा बसिहालेमा पनि नरहने, बच्चा नै नबस्ने लगायतका समस्या निम्तिन सक्छ । गर्भ रहेर फाल्नेतिर सोच्नुभन्दा गर्भ नै नरहने गरी गर्भनिरोधका सामाग्री प्रयोगका लागि चेतनाको खाँचो रहेको छ ।
पाँचैं विकास क्षेत्रका जिल्लालाई प्रतिनिधित्व गर्ने गरी २७ जिल्ला तथा ३८६ वटा स्वास्थ्य संस्थामा अध्ययन भएको थियो । गत महिनादेखि अध्ययन नतिजा सार्वजनिक गरिएको छ । काठमाण्डौबाट चितवन हुँदै टोली पोखरा आएको हो । पोखरामा मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालय कास्की प्रमुख दिनेशकुमार चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, तनहुँका प्रमुख डा. पवनजंग रायमाझी, जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा डा. बुद्धि बहादुर थापा, गण्डकी मेडिकल कलेजका डा. टु माया घले, सामुदायिक विकास प्रतिष्ठानकी नारायणी कोईराला लगायतले बोलेका थिए । उनीहरुले नेपालमा अझै पनि धेरै महिलाहरूले सुरक्षित तथा कानुनी मान्यता प्राप्त गर्भपतन सेवा लिनका लागि बिभिन्न किसिमका बाधाहरूको सामना गर्नुपर्ने अवस्था रहेको बताए ।
