
रञ्जन अधिकारी पोखरा, ९ वैशाख / बाहिर मुसलधारे वर्षा । चर्को गड्याङगुडुङ । सामाजिक सञ्जाल भित्र भने मनिपाल अस्पताल र डाक्टर विरुद्ध चर्को आलोचना । शनिबार बेलुकी फेसबुक/टुइटरमा जिउँदा भगवान्का रुपमा कहलिएका डाक्टर विरुद्ध निकै चित्त दुःखाईका भावहरु पोष्ट भए । सेवाभावले चिकित्सक जस्तो संवेदनशील पेशामा रहेका डाक्टर र पुनर्जिवन दिने अस्पतालविरुद्ध यसै खनिएका भने होईनन् ।
शनिबार मुक्तिनाथ दर्शन गरेर फर्कंदा बस दुर्घटनामा परेर घाइते भएकालाई नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा झारियो । मनिपाल अस्पताल प्राङ्गणमा हेलिकोप्टर ल्याण्ड भएपछि बिरामीलाई अस्पताल छिराउन सकिएन । अस्पतालमा झण्डै तीन महिनादेखि चिकित्सक आन्दोलित छन् । यत्रो समय हुँदा पनि अस्पताल व्यवस्थापनले माग सुनुवाई नै गरेको छैन ।
मनिपाल अस्पतालका चिकित्सकले आफूहरु आन्दोलनमा रहेको भन्दै घाइतेको उपचार गर्न अस्वीकार गरे । उसो त अस्पताल प्रशासनले कुनैपनि बिरामीहरुलाई भर्ना नलिनु भन्ने आदेश प्राप्त भएको जनाउँदै घाइतेहरुलाई उपचार नगर्ने भनियो । डाक्टर आन्दोलनमा छौं भन्ने र प्रशासनको बिरामी भर्ना नगर्ने आदेशको चर्को विरोध भएको हो ।
झण्डै आधा घण्टासम्म बिरामी हेलिकप्टरै छट्पटाएर रहनुपर्ने दृश्यले सबैको मन कुँडियो । भारतीयहरुले सञ्चालन गरेको मनिपाल अस्पताल विरुद्ध स्थानीयबासी खनिए । आन्दोलन जस्तोसुकै भएतापनि यति ठूलो विपद्मा डाक्टर जस्तो मर्यादित र आदरभाव रहने पेशामा रहेकाहरुले चासो नदेखाउनु गलत भएको भन्दै नाराबाजी भयो । उनीहरुले तालाबन्दी सहित स्वास्थ्य मन्त्री र गृहमन्त्रीको राजिनामा माग्दै नारा समेत लगाएका थिए । वडा प्रहरी कार्यालय बगरको टोली त्यहाँ खटिएको थियो ।
त्यसपछि घाइतेलाई पोखराको फिस्टेल हस्पिटल, गण्डकी मेडिकल कलेज, फेवा सिटी हस्पिटल, मेट्रोसिटी हस्पिटल लगायतका स्थानमा लगियो । ‘अस्पतालमा उपचार हुन नसकेपछि तत्काल पोखराका विभिन्न हस्पिटलहरुमा घाईतेलाई लग्यौं’ वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले बताए ।
फिस्टेल हस्पिटलमा भक्तपुर ११ का ७१ वर्षिय सीता पौडेल, मेनुका सुवेदी, बिमला बस्नेता, तोयानाथ दुलाल, जानकी थापा, सारदा दुलाल, श्याम प्रसाद सापकोटा, मीरा थापाको उपचार गरिएको छ । गण्डकी मेडिकल कलेजमा चन्द्र तिमिल्सिना, निर्मला सुवेदी, काभ्रेका २९ वर्षिय सागर अधिकारी, घट्टेकुलोका ७२ वर्षिय छायादेवी रिमालको उपचार गरिएको छ । यस्तै, फेवा सिटीमा काठमाण्डौ ३५ का सिम्रन सुवेदी र मेट्रोसिटीमा सुलोचना पराजुलीको उपचार गरिएको बताईएको छ ।
तीर्थयात्राको क्रममा मुक्तिनाथ बाट फर्कदै गर्दा कागबेनी नजिकै बस दुर्घटना भएको थियो । दुर्घटनास्थलमै ४ जनाको मृत्यु भएको थियो भने एक जनाको जिल्ला अस्पताल मुस्ताङमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा काठमाण्डौ कोटेश्वरका भोला अधिकारी र पुरुषोत्तम ढकाल, थानकोटकी शान्ति खड्का, भक्तपुर चांगुनारायणकी सीता तिमिल्सेना र ललितपुर महालक्ष्मीकी लिला खड्का रहेका छन् ।
यसैबीच, फूलबारी क्लबले अस्पतालको यस्तो कार्यप्रति दुःख व्यक्त गरेको छ । क्लबले शिक्षण अस्पतालको मूख्य प्रबेशद्वारमा तालाचाबी लगाई अर्को सूचना जारी नभएसम्मका लागि यथावत रुपमा बन्द गर्ने निर्णय गरेको विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
क्लबका अध्यक्ष हरिश्चन्द्र बास्तोलाले हड्ताल गर्ने निहुँमा महिनौसम्म मणिपाल शिक्षण अस्पतालमा अस्पतालले प्रदान गर्ने सेवाहरु ठप्प गरिदै आएको भन्दै अस्पताल जस्तो जिम्मेवार र संवेदनशील स्वास्थ्य क्षेत्र उदासिन बनिदिंदा बिरामी र घाइतेहरु उपचारबाट बञ्चित बनेकोमा ध्यानाकर्षण भएको जनाएका छन् ।
अघिदेखि रोकिएको उपचार सेवालाई सुचारु राख्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यलय, नागरिक समाज, स्थानीय संघसंस्थाले पहल गरिदिन क्लबले अपिल पनि गरेको छ ।
२ सय ४० दिनभन्दा बढी काम गरेका चिकित्सकलाई स्थायी गर्नुपर्ने, समय सापेक्ष तलब बढाउनुपर्ने र सार्वजनिक बिदाको दिनका काम गरेवापत सट्टा बिदा पाउनुपर्ने माग राख्दै चिकित्सकले काम रोकेका हुन्। मनिपाल प्रशासनका अनुसार हाल नेपाली फ्याकेल्टी ७९ जना रहेकोमा ५७ जना स्थायी छन् भने ४५ भारतीयमा २४ स्थायी छन्।
मुस्ताङको कागबेनीमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० यात्रु घाइते छन्। दिउँसो साढे १२ तिर मुस्ताङको बाह्रगाँउ मुक्तिक्षेत्र गाउँपालिका ४ कागवेनीमा बस दुर्घटनमा परेको हो। जोमसोम मुक्तिनाथ सडकखण्डमा मुक्तिनाथबाट जोमसोम तर्फ आउँदै गरेको ना५ख ६०६७ नम्बरकोको बस दुर्घटना भएको हो।
३ जनाको घटनास्थल र उपचारका क्रममा २ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ललितपुरको महालक्ष्मी नगरपालिका २ ईमाडोलका ५५ वर्षीय लीला खडका, सोही नगरपालिका ८ की सीता तिमिल्सिना, काठमाडौ महानगरपालिका– ३५ का ५५ वर्षीय भोला अधिकारी, सोही महानगरपालिका ३२ का ४५ वर्षीय पुरुषोत्तम ढकाल र काडमाडौं– ३ की ७० वर्षीय कान्ती खड्का छन्।
दुर्घटनालगत्तै बिरामीलाई उद्धार गरी अन्य ३० जना घाइते यात्रीहरुलाई जिल्ला अस्पताल मुस्ताङ लगिएको र उक्त घाइतेमध्ये गम्भिर १५ जनालाई भने थप उपचारका आर्मीको हेलिकप्टरद्वारा पोखरा ल्याइएको छ।

