पोखरा महानगर योगा र मेडिटेसन टुरिजम सेन्टरः उपमेयर उम्मेदवार सिरोज कोइराला

Share:

पोखरा, २० वैशाख / पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका युवा उद्यमी सिरोज कोइरालाले अब पोखरालाई योगा र मेडिटेसन टुरिजम सेन्टरको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

उनले मंगलबार उपमेयर पदमा उम्मेदवारी दर्ता गरेपछि पोखरा र पर्यटन सधैं जोडिएर आउने गरेकोमा अब यो नगरलाई योगा र मेडिटेशन टुरिज्म सेन्टर बनाउन आफूमा स्पष्ट भिजन रहेको बताए । उनको प्रस्तावकमा विष्णुहरि पौडेल र समर्थकमा किशोर ओझा छन् ।

पोखरा क्षेत्रमा जग्गा कम भएकाले बहुतले भवनको अवधारणामा जानुपर्ने उनको योजना छ । उनले भने ‘महानगर भन्ने साढे २ तले घरकै मापदण्डले अब पुग्दैन, बहुतले भवनमै जानुपर्छ ।’ जग्गाको खण्डीकरण रोकेर महानगरकै मापदण्डमा जग्गा विकास सञ्चालन गर्नु अबको विकल्प रहेको उनको भनाइ थियो ।

पोखरेलीलाई विश्व स्वास्थ्य संगठन मापदण्डको पिउने पानीको प्रबन्ध गर्ने, पोखरा प्रवेशका लागि वैकल्पिक मार्ग बनाउने, मेट्रोपोलिटन बस तथा ट्राम सञ्चालन गर्ने, बजारलाई नै अस्तव्यस्त बनाएको बिजुली, टेलिफोन र केबल तार भूमिगत गर्ने लगायत एजेन्डा लिएर चुनावी मैदानमा उत्रेको उनले बताए ।

यतिका धेरै योजना कसरी सम्भव छन् त ? सिरोजको उत्तर थियो, ‘विज्ञ टोलीसँग म राय लिन्छु, त्यही अनुसार अघि बढ्ने हो, यी सबै कुरा हाम्रो बजेटले भ्याउँछ ।’

स्रोतः समाधान दैनिक

कमेन्ट गर्नुहोस्
Share: