
बिग न्यूज
पोखरा, १ जेठ । देशकै ठुलो महानगर पोखरा लेखनाथको स्थानिय चुनावमा खसेको मत गणना शुरु भएको छ । पोखराको बगरस्थित नगर प्रशिक्षण केन्द्रमा मतगणना शुरु भैसकेको छ ।
मतपरिणाम कुरेर नगर प्रशिक्षण केन्द्र बाहिर थुप्रै सर्वसाधारणसँगै विभिन्न पार्टी निकटका कार्यकर्ताहरु आतुर भएर बसिरहेका छन् । यद्यपी चुनावी मतगणना निकै ढिलो भईरहेको छ । अहिलेसम्म आधिकारिक रुपमा पहिलो चरणको मत परिणाम पनि सार्वजनिक भैसकेको छैन ।
मतपरिणाम सार्वजनिक हुने भन्दै व्यग्र प्रतिक्षा गरेर बसिरहेका सर्वसाधारण र पार्टी निकट कार्यकर्ताहरुले मतगणनामा ढिलाई भएको भन्दै गुनासो गरिरहेका छन् ।
कास्कीमा २ लाख २४ हजार ८ सय ११ जना मतदाता रहेका थिए । त्यसमध्ये महिला मतदाता १ लाख २० हजार २ सय ३० थिए भने पुरुष १ लाख ४ हजार ५ सय ७६ थिए । पोखरा लेखनाथ महानगरपालिकामा १ लाख ६८ हजार ६७ जना मतदाता थिए भने ९८ वटा मतदान स्थल र २ सय १० मतदान केन्द्र रहेका थिए ।
