
जेठ ८ –इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि मुम्बइ इण्डियन्सले जितेको छ । राइजिङ पुने सुपरजाइण्ट्स मात्र एक रनले उपाधि सुम्पन बाध्य बन्यो । आइपिएलको १० वर्षे इतिहासमा मुम्बइ सबैभन्दा धेरै तीनपटक उपाधि जित्ने टीम पनि बनेको छ ।
१ सय ३० रनको सामान्य लक्ष्य पछ्याएको पुनेले २० ओभरमा ६ विकेट गुमाएर १ सय २८ रन मात्र बनाउन सक्यो ।
पुनेका कप्तान स्टेभेन स्मिथको ५० बलमा ५१ रन, अजिन्क्या रहानेले ३८ बलमा ४४ रन बनाउनु बाहेक अरुले उल्लेख्य योगदान गर्न सकेनन् ।

मुम्बइले खेलको अन्तिम ओभरमा नतिजा आफ्नो पक्षमा पारेको थियो । मुम्बईको जितमा अन्तिम ओभरमा मिचेल जोन्सनले लिएको २ विकेट महत्वपूर्ण बन्न पुग्यो। अन्तिम ओभरमा पूणेलाई जितका लागि ११ रन आवश्यक थियो। पहिलो बलमा मनोज तिवारीले चौका प्रहार गर्दै जितलाई नजिक पुर्याएका थिए। तर, उनी जोन्सनको दोस्रो बल र कप्तान स्टिभन स्मिथ तेस्रो बलमा आउट भएपछि पूणेले खेल गुमायो। पुनेले अन्तिम तीन बलमा चार रन मात्र बनाउन सक्यो र खेल एक रनले हार्यो ।

यसअघि टस जितेर ब्याटिङमा आएको मुम्बईको पनि ब्याटिङ कमजोर देखिएको थियो । २० ओभरमा ८ विकेट जाँदा मुम्बईले १ सय २९ रन बनाएको थियो । मुम्बईका रोहित शर्माले २२ बलमा २४ रन, कुर्नाल पाण्डेले ३८ बलमा ४७ रन बनाएका थिए । पुनेका जयदेव उनाडकट, आदम जम्पा, ड्यानियल क्रिष्टियनले दुई दुई विकेट लिए ।

