
बिग न्यूज
बागलुङ, २५ जेठ । बागलुङको गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीका १४ वर्षीय बालक ईश्वर श्रीसको उपचारार्थ संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ ।
सामाजिक अभियन्ताहरू दिपेश काउचा र गोविन्द पुनको नेतृत्वमा दाउरा काट्दा च्यापिएर खुट्टा भाँचिएका ईश्वरको घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारार्थ सहयोग संकलन गरिएको थियो । उपचार खर्च कटाएर बचेको रकम २ लाख ५५ हजार २ सय ३० रुपैयाँ बुधबार हस्तान्तरण गरिएको हो ।
समाजसेवी सुकबहादुर काउचा र कर्णबहादुर पुनको रोहवरमा ईश्वरकी आमा चन्द्रकुमारी श्रीस र समाजसेवी सु. चन्द्रलाल काउचालाई सो रकम हस्तान्तरण गरिएको उपचार सहयोग समितिका संयोजक गोविन्द पुनले जानकारी दिए । ईश्वरको उपचारमा ५८ हजार ८ सय १३ रुपैयाँ खर्च भएको थियो भने ३ लाख १४ हजार ९ सय ५४ रुपैयाँ रकम संकलित भएको थियो ।
मणिपाल शिक्षण अस्पतालमा सफल उपचारपछि ईश्वर अहिले डिस्चार्ज भइ घरमै आराम गरिरहेका छन् । उनको उपचारमा मणिपालले समेत शल्यक्रिया, चिकित्सक तथा शय्या शुल्क निःशुल्क गरिदिएको थियो भने औषधीमा समेत १० प्रतिशत छुट दिएको थियो । आर्थिक अवस्था कमजोर ईश्वरलाई गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीस्थित पाण्डवखानी माविले कक्षा १२ सम्म निःशुल्क पढाउने उद्घोष समेत गरिसकेको छ ।
