
बिग न्युज पोखरा, ३१ जेठ / गोर्खा भूपू सत्याग्रह संघर्ष समितिको आन्दोलन अझै सेलाएको छैन । हालै कडा अनसनबाट बेलायत सरकारले केहि माग पूरा गरेपनि मुख्य मागहरु पूरा नगरेको भन्दै समिति अझै कडा रुपमा प्रस्तुत हुने जनाएको छ । उसले बेलायतसँगै नेपालमा समेत विभिन्न ठाउँमा जानकारी सभा गर्दै भूपूहरुलाई आन्दोलनमा होमिन प्रेरित गरिरहेको छ ।
समान कामको समान ज्याला, भूपूका छोराछोरीहरुलाई विनाविभेद बेलायतमा आवासीय भिसा, विभेद भएकोमा क्षतिपूर्ति, बिनापेन्सन घर फर्काइएका भूपूहरुलाई पेन्सन लगायतको माग राख्दै बेलायत सरकारसँग लामो समयदेखि कानुनी र भौतिक आन्दोलन गर्दै आएको छ । स्वास्थ्य उपचारका सवाल लगायतका केहि मागहरु भने हालै पूरा भएका छन् ।
एकै माग लिएर अघि बढेपनि पहिले आफैबीच मिलाप हुन नसकेको सत्याग्रह संघर्ष समिति र गेसो अहिले मिलेर अघि बढेको जनाएका छन् । बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खाहरुबीच त्रिपक्षीय वार्ताबाट मात्र माग सम्बोधन हुने ठहर बमोजिम उनीहरुले अहिले नेपाल सरकार र बेलायत सरकारलाई विभिन्न तबरले ध्यानाकर्षण गराउँदै आएका छन् ।
गेसो सभापति कृष्णकुमार राई र सत्याग्रह समितिका तर्फबाट संयोजक कृष्णबहादुर राई बेलायत सरकारले गोर्खाहरुलाई दुई सय वर्ष यता भेदभाव, अपमान र असमान व्यवहार गर्दै आएकोमा यसविरुद्ध एक भएर लड्न सहमत छन् । यसैक्रममा पोखरामा सोमबार गोर्खा भूपू सत्याग्रह संघर्ष समिति, पोखराको स्थानीय व्यवस्थापनमा जानकारी सभा आयोजना गरियो ।
सभामा झण्डै दुई सय भूपू तथा परिवारको उपस्थिति थियो । सत्याग्रह समितिका संयोजक कृष्णबहादुर राई, गेसोका तर्फबाट सल्लाहकार पुरनजंग राई, समितिका पोखरा संयोजक मेजर जुद्ध बहादुर गुरुंग लगायतले गोर्खाले भोग्नुपरेको समस्याबारेमा जानकारी गराएका थिए । नेपाल सरकार नै अघि बढ्नुपर्ने भन्दै उनीहरुले बेलायत सरकारलाई झुकाएरै छाड्ने बताए । सिंहदरबारदेखि यूकेसम्म अनसन तथा घेराउका लागि आफूहरु तयार रहेको उनीहरुको भनाई थियो । कार्यक्रममा स्वागत भुपालजंग कुँवर तथा सञ्चालन सचिव पुष्पा राणा घलेले गरेका थिए ।
