
रञ्जन अधिकारी पोखरा, ५ असार / शिक्षा ऐनको संशोधन पश्चात परीक्षाको नामनै परिवर्तन भएर एसएलसीबाट एसइई बन्यो । ऐनले ८ कक्षादेखि १२ कक्षा सम्मको शिक्षालाई विद्यालय शिक्षा बनाएसँगै गत वर्षदेखि एसइइ परीक्षा सुरु भएको हो । यसको जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डले पाएको छ ।
विद्यार्थीको लब्धांकपत्र (ग्रेड सिट) मा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अंक (जीपीए) दिइने अक्षरांकन (लेटर ग्रेडिङ) का कारण नतिजा सुधारोन्मुख छ तर अझै पनि विद्यार्थीको मार्कसिटमा पास फेल उल्लेख नभएपनि सबैले माथिल्लो कक्षा पढ्न भने पाउँदैनन् । विद्यार्थीले ११ कक्षामा भर्ना हुन १.६ जीपीए ल्याउनैपर्ने अवस्था छ । अहिलेको नतिजा अनुसार कास्कीमा एसइइमा सहभागी चार सय पाँच जना विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने छैनन् ।
परीक्षामा मुलुकभर चार लाख ४५ हजार पाँच सय ६४ विद्यार्थी सहभागी भएकोमा कास्कीबाट मात्रै १० हजार चार सय ८२ जना सहभागी थिए । शुक्रबार प्रकाशित परीक्षाफल अनुसार यी मध्ये चार सय पाँच जना विद्यार्थीले १.६ जीपीए भन्दा कम ग्रेड प्राप्त गरेका हुन् । यद्यपी उनीहरु पुरक परीक्षामा सहभागी हुन सक्नेछन् ।
कास्कीमा सात सय ८० जनाले ए प्लस अर्थात् अति उत्तम ग्रेड प्राप्त गरेका छन् । मुलुकभरमा दुई जनाले अधिकतम् ४ जीपीए प्राप्त गरेकोमा कास्कीमा कसैले पनि यतिको जीपीए प्राप्त गरेका छैनन् । भक्तपुरका मनिष चौलागाईं र बुटवलका आदर्श पाण्डेले ४ जीपीए ल्याएका हुन् ।
कास्की जिल्लामा दुई जनाले उच्चतम् ३.९५ जीपीए ल्याएका छन् । जिल्ला शिक्षा कार्यालय कास्कीबाट प्राप्त जानकारी अनुसार लिटिल स्टेप बोर्डिङ र मर्निङ स्टारका विद्यार्थीले कास्कीमा ३.९५ जीपीए ल्याएका हुन् । यस्तै, छ जनाले ३.९ जीपीए प्राप्त गरेका छन् । समता शिक्षा निकेतनका दुई जना, मर्निङ स्टार, हिलप्वोईन्ट, शितलादेवी सामुदायिक र प्रतिभा बोर्डिङका एक एक जनाले ३.९ जीपीए ल्याएका हुन् । यस्तै, ४५ जनाले ३.८५ जीपीए, एक सय १८ जनाले ३.८ जीपीए प्राप्त गरेका छन् । एक सय ६३ जनाले ३.७५ जीपीए ल्याएका छन् ।
यसैगरी, दुई सय १८ जनाले ३.७ जीपीए प्राप्त गरेका छन् भने दुई सय २८ जनाले ३.६५ जीपीए माथि प्राप्त गर्दै ए प्लस ग्रेडमा स्थान सुरक्षित गरेका छन् । ३.६५ देखि ४ जिपिए ल्याउनेहरु ए प्लस ग्रेडमा रहन्छन् । यस्तै, दुई हजार दुई सय ८९ जनाले ए ग्रेड प्राप्त गरेका छन् । ३.२५ देखि ३.६ जीपीए ल्याउनेहरु यतिको संख्यामा रहेका हुन् । बी प्लस ग्रेड ल्याउने दुई हजार तीन सय पाँच छन् । उनीहरु २.८५ देखि माथि ३.२ सम्म जीपीए ल्याउनेहरु हुन् । एक हजार सात सय ८९ जनाले बी ग्रेड प्राप्त गरेका छन् । २.४५ माथि २.८ जीपीए सम्म ल्याउनेहरु यो ग्रेड अन्तर्गत पर्दछन् । एक हजार छ सय ५१ जनाले सी प्लस ग्रेड प्राप्त गरेका छन् । २.०५ जीपीए देखि २.४ जीपीए सम्म ल्याउनेहरु यस ग्रेडमा पर्दछन् ।
यस्तै, एक हजार एक सय ८३ विद्यार्थी १.६५ देखि २ जीपीए प्राप्त गरी सी ग्रेडमा उत्तीर्ण भएका छन् । तीन सय ४१ जना १.२५ जीपीए देखि १.६ जीपीएसम्म ल्याएर डी प्लस ग्रेडमा छन् । ०.८५ देखि १.२ जीपीए ल्याएर डी ग्रेडमा रहनेहरु २९ जना मात्रै छन् । इ ग्रेडमा ०.८ सम्म ल्याउनेहरु १ जना मात्रै छन् । एक सय सात जनाको शुन्य जीपीए छ ।
कतिपय कलेज र विषय हेरेर माथिल्लो कक्षामा भर्नाका लागि अलग अलग मापदण्ड पनि बनाइएकाले डी ग्रेड पाउने सबैले सबै विषयमा पढ्न भने पाउने छैनन् । जीपीए १.६ भन्दा बढी ल्याए पनि विषयगत रूपमा निश्चित ग्रेड ल्याउनुपर्ने हुन्छ । सबै समूहमा सामाजिक, अंग्रेजी, नेपालीमा अनिवार्य डी प्लस ल्याउनुपर्ने हुन्छ । विज्ञान समूह अध्ययन गर्न न्यूनतम २ जीपीए, विज्ञान र सामाजिकमा सी प्लस, अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस ल्याउनैपर्ने हुन्छ । त्यस्तै व्यवस्थापन, मानविकी र शिक्षाको जुनसुकै विषय पढ्न पनि अंग्रेजी र सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ । कक्षा ११ मा अंग्रेजी र नेपाली अनिवार्य हुन्छ । त्यसबाहेक तीन सय पूर्णांकको ऐच्छिक विषय पढ्नुपर्ने हुन्छ । तीन सय पूर्णांकको विषय छनोट गर्दा निश्चित विषय पढ्न तोकिएकै ग्रेड ल्याउनुपर्ने हुन्छ । व्यवस्थापनतर्फको विषय पढ्न विज्ञान र गणितमा डी प्लस ल्याउनैपर्ने हुन्छ ।
ग्रेड सी र त्योभन्दा कम अंक ल्याउने विद्यार्थीले यही वर्ष सवै विषयको परीक्षा दिन पाउनेछन्। अघिल्लो वर्ष दुई विषयमा ग्रेड डी र ई ल्याउन नसकेका विद्यार्थीले पुनः मौका परीक्षा दिएका थिए। यसअघि यसलाई विगतमा पूरक (मौका) परीक्षा भनिन्थ्यो तर मौका परीक्षामा दुई विषयमा अनुत्तीर्ण भएकाले मात्र भाग लिने गरेकोमा यस प्रणालीमा जुनसुकै विषयमा प्राप्तांक बढाउन पाइनेछ । ग्रेड स्तरोन्नतीको परीक्षा आउँदो साउन १९ देखि २६ गतेसम्म हुने कार्यालयले जनाएको छ।
