
फिल्म ‘रुदाने- विद्रोहको नेपाली नाम’ को फस्टलुक सार्वजनिक भएको छ। रुदाने अर्थात् रुपचन्द्र विष्ट ! जसलाई पुरानो पुस्ताले चटक्कै बिर्सिसक्यो, नयाँ पुस्ताले चिनेकै छैन। राजनीतिज्ञ तथा दार्शनिक स्व. विष्टको १८ औँ स्मृति दिवसको दिन रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने: विद्रोहको नेपाली नाम’ बनेको हो ।
चलचित्रमा रुपचन्द्र विष्टको सिङगो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिएका छन् । मकवानपुरलाई आफ्नो कर्म भूमि बनाई नेपालमै मौलिक नेपाली दर्शन थाहा जन्माइ जनमुखि राजनीति मार्फत सम्पूर्ण जीवन जनता जगाउने काममा समर्पित रुपचन्द्र विष्ट नेपालको इतिहासमा कहि कतै पनि दर्ज नभएको नाम हो ।
अमित किसोर सुवेदि र विकास ढकालले रुदानेको लेखन तथा निर्देशन गरेका हुन् । दावनल क्रियशनले थाहा यात्रा सागको सहकार्यमा निर्माण गरेको चलचित्रका निर्माता जागृत रायमाझि रहेका छन् । चलचित्रमा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिब्यदेबले अभिनय गरेका छन् । साथमा नम्रता श्रेष्ठ, रवि गिरि ,सुभाष गजुरेल, अमर सुवेदि लगायतका एक सय भन्दा बढि कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा वलिउडका सान्ता राओको छायांकन, निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहेको छ ।
फिल्म मकवानपुरको दामन पालुङमा खिचिएको छ। रुदाने यसै वर्ष भित्र प्रर्दशनमा ल्याउने गरि अन्तिम चरणको सुटिङ भइरहेको निमार्ण पक्षले जनाएको छ । चलचित्र मार्फत पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्ता माझ किंवदन्ति बनेको रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनसँग सम्बन्धित अनेकौ पाटाहरु उजागर गर्ने प्रयास गरिएको निर्देशकहरुले बताए । २०४० को दशकमा देशमा लोकप्रियताको शिखरमा रहेका रुपचन्द्रले प्रतिपादन गरेको थाहा दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ ।

