
रञ्जन अधिकारी पोखरा, ८ असार / परीक्षा दिएर फर्कदैं गरेका स्कुटरमा सवार दुई किशोर गम्भिर घाईते भएका छन् । बिहीबार पूर्वान्ह १० बजे कक्षा ११ को परीक्षा दिएर फर्केका उनीहरुलाई बसले ठक्कर दिएको हो ।
पोखराको माउण्ट अन्नपूर्ण माविमा अध्ययनरत रुपेश थापा र शिशिर थापा बरपाटन स्थित बिन्ध्यवासिनी माविमा परीक्षा दिएर फर्किदै गरेको अवस्थामा दुर्घटनामा परेका हुन् । बाग्लुङबाट काठमाडौंका लागि छुटेको ना ५ ख ९५०५ नम्बरको बसले बिद्यार्थी सवार ग १२ प ३८२७ नम्बरको स्कुटरलाई पोखराको अर्चलबोट नजिकै ठक्कर दिएको हो । स्कुटरले बाटो क्रस गर्ने क्रममा माथिबाट तीब्र गतिमा आएको बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
गम्भिर घाइते उनीहरुलाई सहारा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको छ । दुर्घटना लगतै आक्रोसित बिद्यार्थीले ठक्कर दिने बसमाथि आगजनीको प्रयास गरेका थिए । उनीहरुले बसको सिसा समेत फुटाएका थिए । बसमा ढुंगा प्रहार गरेपछि उपस्थित सुरक्षाकर्मीले निर्घात कुटपिट गरेको भन्दै स्थानीयबासी आक्रोशित भए । उनीहरुले प्रहरीले दमन गरेको आरोप लगाउँदै प्रहरीमाथि गालीगलौजमा उत्रेका थिए । बस तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले तत्काल तीन जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीमाथि दुब्र्यबहार गर्ने दुई महिलालाई पनि नियन्त्रणमा लिएको थियो । उनीहरुले म्यादी प्रहरी भन्दै गाली गरेका थिए ।
प्रहरीले भने स्थानीयबासी आक्रोशित बन्दा सामान्य अवस्थामा फर्काउन प्रयास मात्र गरेको बताएको छ । दुर्घटनास्थलमा जम्मा भएको भिड पन्छाउने क्रममा प्रहरीले लाठीचार्च समेत गरेको थियो ।
