उपचार खर्च नभएपछि अस्पतालले सघाउने आश्वासन, समाचारको अस्वभाविक खण्डन

Share:

बिग न्युज पोखरा ५ साउन / पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी)मा उपचाररत बिरामीलाई उपचार खर्च नभएपछि आफन्तले लैजान खोज्दा अस्पताल संवेदनहीन बनेको आरोप सामाजिक सञ्जालमा खेपेपछि अब अस्पतालले उपचारमा सघाउने आश्वासन दिएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ की ५५ बर्षीय मिठुु नेपालीको सो अस्पतालमा उपचार भएको थियो । मंगलबार मिठूका परिवार तथा आफन्तले उपचार पनि सम्भव नहुने र रकम पनि सकिने हो भने पैसाको अभावले मिठूलाई घर फर्काउने प्रयास गरेको थियो । अस्पतालले डिष्चार्ज पनि दिएको तर घर लैजानका लागि गाडीमा राख्ने क्रममा देख्ने सर्वसाधारणले गम्भीर बिरामी हुँदापनि अस्पतालबाट लैजान लागेको भन्दै आपत्ति एवं अवरोध गरेपछि मिठूलाई पुनः अस्पताल भर्ना गरिएको थियो ।

मिठुको स्वास्थ्यमा सामान्य सुधार आएको छ । टिवि रोगबाट ग्रसित नेपालीको फोक्सोमा पनि गम्भीर समस्या देखिएपछि ६ दिन अघि जिएमसीमा भर्ना गरिएको थियो । बिरामी मिठुको उपचारमा ठूलो रकम खर्च भइसकेकोले थप उपचारका लागि रकम नभएको मिठूका श्रीमान् काले नेपालीले बताएका छन् । उनले भने–‘मेरी श्रीमतीको उपचारमा करिब ३ लाख रुपैयाँ सकिइसकेको छ । अब मसंग कत्तिपनि रकम छैन, म अब के गरौं ?’ ‘मसंग जति रकम थियो सक्कियो, मेरो ऋण खोज्ने अवस्था पनि छैन । मेरी श्रीमती पनि नरहने र ऋण भार पनि बढ्ने हो भने किन अस्पतालमा राखिरहने ?’, अस्पताल प्रशासन तथा प्रमुख संगको छलफलमा उनले भने–‘अस्पतालले सक्छ भने उपचार गरिदिओस्, होइन भने डिस्चार्ज गरिदिओस् म घर लिएर जान्छु । मेरी श्रीमती जति दिन बाँच्छिन्–बाँच्छिन् ।’

काले नेपालीको यो भनाइ पछि अस्पताल प्रशासनले मिठूको उपचारमा सघाउने आश्वासन दिएको छ । अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट टुमाया घलेले बिरामी मरोस् भन्ने र परिवारलाई आर्थिक बोझ बोकाउने चाहना अस्पतालको नरहेको भन्दै मिठूको उपचारमा सक्दो सहयोग गर्ने आश्वासन दिएकी छन् । उनले भनिन्–‘मिठूको उपचार निकै महंगो छ तर केही न केही प्रयास अस्पतालले गर्छ । यस्तो अवस्थामा बिरामीलाई फर्काउन मिल्दैन । तपाइँहरु बिरामीलाई यत्तिकै घर लैजाने कुरा नगर्नुस्, हाम्रा पनि मानवीय समवेदना र सामाजिक उत्तरदायित्व हुन्छन्, हामी खाली पैसाकै पछाडि मात्र लागेका छैनौं, त्यसैले केही न केही सहयोग अस्पतालबाट हुन्छ ।’ धादिङ–पोखरा सम्पर्क समाजको पहलमा बुधबार अस्पताल प्रशासन र बिरामीपक्ष बीच पटक–पटक छलफल भएको थियो । धादिङ पत्रकार समाज पोखराले पनि घटनाका सम्बन्धमा बुझेर सहयोग संकलनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष रञ्जन अधिकारीले जानकारी दिए ।

मिठूलाई उपचारका लागि केहि दिन अघि पोखराको फिस्टेल अस्पतालमा समेत भर्ना गरिएको थियो । उपचार राम्रो नभएको र विरामीको अवस्थामा सुधार नआएको भन्दै धादिङ फर्काइएको र गाउँ लैजानेक्रममा बाटोमा अझै बढी गाह्रो भएपछि पुनः पोखरा ल्याइएको थियो । आइतबार फिस्टेल अस्पतालले भर्ना नलिएपछि उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो । मिठूका एक छोरा र ८ छोरी छन् । उनी दुई महिनाअघि देखि मात्रै बिरामी भएकी थिईन् ।

यसैबीच, गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी मिठूको विषयमा अस्पतालसंग जोडेर बाहिर टिकाटिप्पणी भएकोमा अस्पताल प्रशासनले आपत्ति जनाएको छ । यसै विषयलाई लिएर सामाजिक सञ्जाल तथा अनलाइन संचार माध्यममा समाचार प्रकाशित भएको थियो भने सामाजिक सञ्जालमा अस्पतालको आलोचना भएको थियो । बिना कारण अस्पताल र चिकित्सकहरुको आलोचना र टिकाटिप्पणी भएको भन्दै अस्पताल प्रशासनले आपत्ति प्रकट गरेको हो ।

‘मिठूको उपचारमा अस्पतालको कुनै कमिकमजोरी र त्रुटि छैन, अस्पतालसंग जोडर प्रकाशित समाचारप्रति हाम्रो गम्भीर आपत्ति छ’, बुधबार अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट घलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘मिठू नेपालीको बिषयलाई लिएर सामाजिक सञ्जाल तथा अनलाईन मिडियाहरुमा अस्पतालको बारेमा भ्रमपूर्ण सन्देश जाने गरि प्रकाशित समाचारहरुले हामीलाई निकै दुखी बनाएकोे छ । हाम्रो तर्फबाट बिरामीको उपचारमा कुनै त्रुटि र कमीकमजोरी नहँुदा पनि हामीप्रति लगाईको आरोपप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछांै।’

‘पत्रकारिताको नैतिक जवाफदेहिता समेत ख्याल नगरी, बिरामीका आफन्तजन, उपचारमा संलग्न चिकित्सकहरु तथा अस्पताल प्रशासनसँग कुनै जानकारी नलिई आफ्नो मनोमानी र हचुवाको भरमा भ्रमपूर्ण समचार सम्प्रेषण गर्ने सम्बन्धित अनलाईन तथा सामाजिक संजाल संचालकहरु लाई यस्ता गल्ती अबका दिनमा नगर्न, नदोहोर्याउन हुन सबैको ध्यानाकर्षण गराउन चाहन्छौं’–विज्ञप्तिमा भनिएको छ ।

यद्यपी, गण्डकी मेडिकल कलेजले पिसपोखरा डटकमको नाम नै किटेर विज्ञप्ती जारी गरेपनि समाचारमा पनि कहिँ कतै अस्पतालको कमजोरी लेखिएको छैन । सो अनलाईनले विशेष सम्पादकीय नै लेखेर यस सम्बन्धमा अस्पताललाई सचेत गराएको छ । बाहिर अस्पतालको आलोचना भएकोतर्फ समाचारमा ईंगित गरेकोमा अस्पतालले भने आफूलाई नै आलोचना गरेको ठानेको प्रष्ट देखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: