‘आन्दोलनका बाहक विद्यार्थी अब सिर्जनाको संवाहक’

Share:

रञ्जन अधिकारी पोखरा, १४ साउन।  नेकपा एमालेका पोलिटब्युरो सदस्य बेदुराम भुषालले जनताको बहुदलीय जनवाद (जवज) को सान्दर्भिकता कायमै रहेको बताएका छन् । जबजका सबै लक्ष्यहरु प्राप्त नभएपनि जबज असफल नभएको भन्दै उनले कुनै पनि सिद्धान्तको सान्दर्भिकता त्यसका निर्धारित लक्ष्यहरु प्राप्त नहुन्जेल नसक्ने भएकाले अझै पनि जबजको सान्दर्भिकता रहेको उल्लेख गरे ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) पृथ्वीनारायण क्याम्पस कमिटिले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद विषयमा प्रवचन दिँदै उनले

व्यवरहारमा प्राप्त सफलताले जबजको सच्चाइ पुष्टि भएको समेत उल्लेख गरे । भुषालले जबज र पार्टी निर्माण, जबज र समाजवादमा संक्रमण, क्रान्तिको बाटो या संघर्ष, यसका सैद्धान्तिक, राजनीतिक, आर्थिक तथा सामाजिक सांस्कृतिक आयामबारे प्रशिक्षण दिए । माक्र्सवाद र लेनिनवादका मुख्य लक्ष्य कम्युनिष्टका प्रमुख कर्तव्यबारे समेत प्रवचन दिए ।

सो अवसरमा अनेरास्ववियूका केन्द्रिय उपाध्यक्ष रश्मी आचार्यले परिवर्तित सन्दर्भमा विद्यार्थी आन्दोलनको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरे । हिजो आन्दोलनका बाहक विद्यार्थी अब सृजनाको संवाहक भएको उल्लेख गर्दै उनले अब प्राज्ञिक जनशक्ति उत्पादनको मूल थलो क्याम्पस बनाउँदै अरु विद्यार्थी संगठनभन्दा पृथक र पहिलो रोजाईको बन्नुपर्ने, देशको समृद्धिको मुख्य अभियन्ताका रुपमा अनेरास्ववियूलाई स्थापित गर्नुपर्ने खाँचो औंल्याए ।

कार्यक्रममा अनेरास्ववियू सचिवालय सदस्य सरिता पुरी, केन्द्रिय सदस्यहरु आशिर्वाद सुवेदी, ज्ञानु भुजेल र रिता ढकालले पनि बोलेका थिए । कार्यक्रमको अध्यक्षता समेत गरेका अनेरास्ववियू, पृना क्याम्पस कमिटि अध्यक्ष राजन शर्मा पराजुलीले विद्यार्थी आन्दोलनले केहि गति लिन नसकिरहेको जस्तो देखिएको उल्लेख गर्दै अब शैक्षिक संस्थाहरुलाई पारदर्शी, जनमुखी बनाउँदै सार्वजनिक शिक्षाको गुणस्तर र श्रीवृद्धिको लागि अनेरास्ववियू अब ठोस कदमका साथ अघि नबढे विद्यार्थी संगठनकै आवश्यकतामाथि प्रश्न चिन्ह खडा हुने उल्लेख गरे । उनले पृथ्वीनारायण क्याम्पस सरकारी भएपनि प्राईभेट विषयहरु सञ्चालन गर्दा अन्य सरकारी क्याम्पसको भविष्यमाथि नै प्रश्नचिन्ह खडा गर्न सफल भएको भन्दै अब पूर्ण सरकारी स्वामित्वमा बनाई गरिब, जेहेन्दार विद्यार्थीले पनि पढ्न पाउने वातावरण गराउनुपर्नेमा जोड दिए । कार्यक्रमको संचालन सचिव विजय पौडेलले गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
Share: