पार्टी राजाको हुकुमी शासन जसरी चल्दैन: पौडेल

Share:

रञ्जन अधिकारी पोखरा, १५ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई गुटबन्दी र नैतिकताको संकटबाट बचाउन आवश्यक रहेको बताएका छन् । उनले बिपीको सिद्धान्त अंगिकार गरेको पार्टी नेपाली काँग्रेसले उनका विचार र मूल्य मान्यतालाई आत्मसात् गरी अरु सामु उदाहरणीय लोकतान्त्रिक पार्टी बन्नुपर्नेमा बाटो भुलेको उल्लेख गरे ।

नेपाल विद्यार्थी संघ, इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस इकाईद्वारा आईतबार पोखरामा आयोजित बिपी स्मृति पार्क उद्घाटन कार्यक्रममा उनले प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको नेतृत्व देखि कार्यकर्ताले सोहि अनुसार राम्रो आचरण र व्यवहारलाई अंगिकार गर्नुपर्ने बताए । पार्टीभित्रको गुटगत राजनीति, मनोमानी र मनपरी निर्णयको असन्तुष्टि जनाए ।

‘राजाको हुकमी शासन त यो होईन । एक जनाले तोकिदिने त होईन । मनोमानी ढंगले जे गर्न नि पाईन्छ ? भनेर अरुले भन्न त पाईहालियो नि । मूल्यांकन नहुने आफ्नो मान्छे मात्र हुने हो भने अरुले भनिहाल्छ । त्यो अवस्था आउन दिनहुन्न ।’ पौडेलले भने – ‘पार्टीलाई संस्थागत रुपमा चलाऔं । पद्धतीले सरकार, पार्टी चलाऔं । लोकतन्त्र यो हो भनेर हामीले दृष्टान्त प्रस्तुत गर्नुपर्छ । यो नेपाली काँग्रेसले नै गर्नुपर्छ ।’

वीपीले देखाएको बाटोमा नहिंड्दा जनताले स्थानीय चुनावमा एमालेलाई भोट हालेको उनको विश्लेषण छ । कांग्रेसकै कमजोरीका कारण पार्टी कमजोर भएको भन्दै उनले भने, ‘कांग्रेसजस्तो पार्टी छाडेर जनताले किन सिद्धान्त नभएको एमाले जस्तो पार्टीलाई रोज्यो ? कार्यकर्ताले किन आफ्नै पार्टी कांग्रेसमा भोट हालेनन् ? त्यसकारण हामी आफै सच्चिनुपर्छ ।’

लोकतान्त्रिक तथा कम्युनिष्ट बिचारधारा बोकेका सबै पार्टीहरु वीपीकै सिद्धान्तमा चलिरहेको पौडेलको दाबी छ । लोकतन्त्रमा शक्ति भनेको जनताको अन्तरमनदेखिको समर्थन भएको बताउँदै उनले राष्ट्र र लोकतन्त्रको रक्षाका लागि काँग्रेसको नेतृत्व अपरिहार्य हुने बताए । ‘काँग्रेसको नेतृत्वमा भएको लामो समयदेखिको संघर्षको प्रतिफलस्वरुप राजनीतिक व्यवस्थामा टुंगो लागेको छ । नेपालको अबको बाटो समृद्धिको हो, यसका लागि ठोस योजनासहित अघि बढ्नु आवश्यक छ ।’ – पौडेलले भने । कांग्रेस नेता पौडेलले मंसीर १५ गतेसम्ममा प्रतिनीधि सभा तथा प्रदेश सभाको निर्वाचन सक्नुपर्ने धारणा व्यक्त गरे । लोकतन्त्र र समाजवाद मान्नेलाई मात्र संगठनमा गोलबद्ध गर्न नेविसंघलाई निर्देशन दिए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले बिपीको विचारकै जगमा नेपाल वर्तमानमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै अघि बढेको बताउँदै स्मृतिमा उद्यान निर्माण गरिनुले उनको योगदान बाँचिरहने विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेस कास्कीका पूर्वसभापति सोभियतबहादुर अधिकारीले बिपीले अघि सारेका विचारलाई वामपन्थी शक्तिले पनि आत्मसात् गरेको बताउँदै त्यही विचारकै जगमा देशलाई समृद्धिको मार्गमा लैजान सकिने बताए । नेपाली काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले लोकतान्त्रिक संस्कार र संस्कृति बोक्ने युवाबाट नै राष्ट्र र लोकतन्त्र जोगाउन सकिने धारणा राखे । कोषाध्यक्ष लक्ष्मी पाण्डेले विद्यार्थीहरुको उत्साह र जाागरलाई साथ दिन पार्टी तयार हुनुपर्ने बताईन् ।

क्याम्पस प्रमुख रामप्रसाद पौडेलले मुलुकमा वर्षेनी १५ सय ईञ्जिनियर तयार पार्ने क्याम्पसका भौतिक अवस्था तथा विद्यार्थीका लागि आवश्यकी शैक्षिक सामाग्री अपुग भएको भन्दै काँग्रेस वरिष्ठ नेता र उनी मार्फत सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्री उपाध्यक्षद्वय डिल्लीराम सुवेदी र सागर परियार, सहमहामन्त्री हरिहर शर्मा, पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डे, गोविन्द एलसी, केन्द्रिय सदस्य भानु ढकाल र देवकृष्ण पराजुली, विद्यार्थी नेताहरु राजेश्वर पंगेनी, अञ्जान थापा, भरत रखाल, चुडामणि खनाल. इकाइका सभापति आदर्श लामिछाने लगायतले बोलेका थिए ।

स्मृति पार्क निर्माण समितिका संयोजक सुमन शर्माका अनुसार साढे १० लाख लागतमा सो पार्क निर्माण सम्पन्न भएको हो । पार्कको करिब छ महिना अघि शिलान्यास भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: