
पोखरा, २३ साउन / मिस पोखराको नवौं संस्करणमा योग्य र क्षमतावान् युवतीलाई सहभागिताका लागि आयोजक लागिपरेको छ । मिस पोखराको अडिशनलाई लक्षित गर्दै अहिले पोखराका बिभिन्न कलेजहरुमा प्रतियोगिताको बारेमा जानकारी गराउन पोखरा जेसिसका सदस्यहरु, २०१६ का मिस पोखराका बिजेता, उपबिजेता बिभिन्न कलेजहरुमा भ्रमण गरिरहेको मिस पोखरा २०१७ का मुल संयोजक शिव सापकोटाले जानकारी दिए ।
मिस पोखरा अन्य सुन्दरी प्रतियोगिता भन्दा महत्वपूर्ण र प्रतिष्ठित रहेको पोखरा जेसीसका अध्यक्ष शिव कोईरालाले बताए । उनका अनुसार मिस पोखरा बन्न सफल प्रतियोगीले सोझै मिस नेपालको ट्रेनिङमा प्रवेश पाउनेछन् । साथै’ मिस नेपाल पछिको सर्बाधिक पुरस्कार राशी पनि रहेको उनले दाबी गरे । “ब्यूटी विथ ब्रेन” नारा दिइएकोे मिस पोखराको पहिलो अडिसन यहि साउन २८ गते र अन्तिम अडिशन भदौको ३ गते पोखराको लेकसाइड स्थित होटल पोखरा बाटिकामा हुदैछ ।
कार्यक्रमको अन्तिम प्रर्तिस्प्रर्धा आगामी असोज ५ गते घटस्थापनाको दिन बिबिध सांगीतिक कार्यक्रमको साथमा भब्य रुपमा सम्पन्न हुने मिस पोखरा २०१७ का इभेन्ट म्यानेजर एवं कोरियोग्राफर सुरज थापाले जानकारी गराए ।
