
रञ्जन अधिकारी पोखरा, २७ साउन / पोखराको रामबजारमा आयोजित प्रदेश नम्बर ४ स्तरीय लाखे नाच प्रतियोगितामा गोरखाको आँपपिपल नेवाः खल प्रथम भएको छ । कूल २० टोलीले सहभागिता जनाएको प्रतियोगितामा उत्कृष्ट ठहरिँदै आँपपिपले नगद २० हजार एक सय २१ साथमा प्रमाणपत्र प्राप्त ग¥यो ।
प्रतियोगितामा भैरवटोल लाखेनाच समितिले दोस्रो स्थान प्राप्त गर्दा बालगोपाल भजनकिर्तन समूह तेस्रो भयो । यस्तै, देउराली नेवाः खल हटिया र छाङेली नेवाः खल छाङ, तनहुँले सान्त्वना स्थान प्राप्न गरे । आयोजक रामबजार तायमचा नाच समितिले दोस्रो हुनेलाई नगद १२ हजार एक सय १२, तेस्रो हुनेलाई सात हजार सात सय ७७ र सान्त्वना हुनेलाई जनही चार हजार पाँच रुपैंयाका साथमा प्रमाणपत्रले पुरस्कृत ग¥यो । आयोजक टोलीको अप्रतियोगिता लाखे नाच समेत प्रस्तुत गरिएको लाखे नाच संयोजक अष्टमान प्रधानाङ्गले बताए । दुई दिने कार्यक्रममा शनिबार तायमचा नाच प्रतियोगिता हुनेछ । जिल्ला स्तरमा हुने सो प्रतियोगितामा २६ टोलीले सहभागिता जनाउनेछन् ।
यसअघि, कार्यक्रमको शुभारम्भ गर्दै सांसद शारदा पौडेलले आफ्नो संस्कृतिको जगेर्ना गर्नका लागि रामबजार तायमचा नाच समितिले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरिन् । उनले आफ्नो भाषा, भेष र संस्कृति नै पहिचान भएको उल्लेख गर्दै यिनीहरुको संरक्षण र संम्वद्र्धन नगरे आफ्नो पहिचान नै हराउने बताईन् । परम्परागत पर्व तथा संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु हाम्रो दायित्व हो भन्दै सांसद पौडेलले रामबजार तायमचा नाच समितिले प्रदेश स्तरीय प्रतियोगिता गरेर आफ्नो दायरा फराकिलो पारेकोमा सन्तोष व्यक्त गरिन् । उनले सांसद विकास कोषबाट दुई लाख प्रदान गर्ने घोषणा समेत गरेकी छन् ।
नेवाः खल कास्कीका उपाध्यक्ष तीर्थ श्रेष्ठले रामबजार तयामचा नाच समितिले आफ्नो जातिय पहिचान र संस्कृतिको जगेर्नामा सक्दो लागिपरेको भन्दै आभार व्यक्त गरे । सो अवसरमा नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ करण, राप्रपा कास्की अध्यक्ष जयलाल पुन, पोखरा वडा नं. १० का अध्यक्ष राजकुमार गुरुङ, पोखरा वडा नं. १५ का अध्यक्ष प्रकाश पौडेल, टोल विकास संस्था महिला समन्वय समिति वडा नं. १० की अध्यक्ष निर्मला कार्की भण्डारी लगायतले बोलेका थिए ।
आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक सम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष नारायण श्रेष्ठले स्वागत तथा पत्रकार सञ्जय मल्लले कार्यक्रम सञ्चालन गरेका थिए । शुक्रबार कालिका मन्दिरको प्राङ्गणमा भएको लाखे नाचका लागि लमजुङ्गबाट २ टोली, गोर्खाबाट १, स्याङ्गजाबाट २, बेनीबाट १, कुस्माबाट १, बाग्लुङ्गबाट १, तनहुँबाट ४ नवलपरासीबाट १ तथा कास्कीबाट ७ टोलीले सहभागिता जनाएका थिए । तायमचा प्रतियोगिता भने श्रीकृष्ण मन्दिर रामबजारको परिसरमा देखाइनेछ । नेवार समुदायमा प्रचलित गाइजात्रा पर्वको सन्दर्भमा बिशेष गरि कास्कीको पोखरामा प्रचलित तायमचा नृत्य प्रतियोगितामा प्रथम हुनेले रु ३५ हजार १ सय ३५ र रु १५ हजार बराबरको खिङ्ग बाजा पुरस्कार स्वरुप पाउने छन् । त्यसैगरि द्धितिय हुनेले रु २१ हजार १ सय २१ का साथ ख्याली र प्रमाणपत्र, तृतिय हुनेले रु १२ हजार १ सय १२ र १ जोडी ता, सान्तन्वा र प्रोत्साहनले रु ५ हजार ५, उत्कृष्टबाद्यबादक, जोकर, ख्याली, भेषभुषाका लागि रु २ हजार ५ सयको पुरस्कार ब्यवस्था गरिएको संयोजक श्रेष्ठले जनाए । दुइदिन सम्म सुनिल उलकको सहयोगमा पोखराका पुराना भिडियो तथा फोटो प्रर्दशनीमा राखिएको छ ।
Photo: Umesh Pun
