
रञ्जन अधिकारी पोखरा, १७ भदौ । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जुन उद्योगी व्यवसायीले नियमानुसार कर तिर्छन्, उनीहरु सम्मानित हुने बताएका छन् । व्यवसायीले स्वतस्फुर्तः जिम्मेवार ढंगबाट कर तिर्नुपर्ने भन्दै उनले कर तिरेपछि सम्मानित हुने वातावरण बनाउन आफू पनि क्रियाशिल हुने बताए ।
‘नागरिकले आफूले तिरको कर नागरिककै हितमा खर्च हुने प्रत्याभूति भए मात्र बढीभन्दा बढी व्यवसायीहरु करको दायरामा आउने वातावरण निर्माण हुन्छ ।’ – पोखरा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ६३ औँ वार्षिक अधिवेशनमा प्रमुख अतिथि जिसीले भने– ‘कर तिरौं, कर तिर्नेहरु सम्मानित व्यक्तित्व हुन् ।’ महानगरका ४० प्रतिशत नागरिक मात्र अहिले करको दायरामा आएको बताउँदै यो आर्थिक वर्षमा ७० प्रतिशत नागरिकलाई करको दायरामा ल्याउने लक्ष्य रहेको उनको भनाई थियो ।
व्यवसाय स्वरोजगारमुलक हुनुपर्नेमा जोड दिँदै उनले पोखरा पर्यटकीय नगरी समेत भएकाले पोखराको पहिचान झल्किने व्यवसाय झनै महत्वपूर्ण रहने बताए । ‘पोखरा महानगपालिकाले निजी क्षेत्रको सवलिकरणका विशेष ध्यान पु¥याउँछ ।’ उनले भने– ‘स्वरोजगारमूलक क्षेत्रको पहिचान गरी लगानी गर्न व्यवसायीहरुलाई मेरो आग्रह छ ।’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले डेढ अर्ब राजश्वले यहाँ विकास नहुने भन्दै गाउँपालिकामा तरकारीमा कर लगाएर राजश्व उठाउने तरिका बेठीक भएको बताए । सम्वृद्धि नाराले हैन लगानीले मात्र सम्भव हुने बताउँदै उनले आठ अर्बको हाराहारीमा राजश्व उठाएर मात्र प्रदेश नम्बर ४ सम्वृद्ध नहुने ठोकुवा गरे । देश संघीय संरचनामा जाँदै गर्दा केन्द्र, प्रदेश र स्थानीय सरकारले विभिन्न शीर्षकमा करहरु बढाउने तयारी गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले करदातालाई दोहोरो मार पार्ने गरी कर लगाएमा त्यसको प्रतिकार गरिने बताए । व्यवसायीहरु कर तिर्न तयार रहे पनि दोहोरो कर तिर्न भने तयार नभएको घोषणा गरे ।
नेपाली काँग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले राजनीतिक मुद्धाहरु किनारा लागि सकेकोले राजनीतिक पार्टीहरुको अबको एजेण्डा विकास हुनुपर्नेमा जोड दिए । सम्वृद्ध पोखरा बनाउनको लागि गुरुयोजनाका साथ अगाडि बढ्नु पर्ने उनको धारणा थियो । नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर का अध्यक्ष संजिवबहादुर कोइरालाले खानेपानी र बिजुलीको जस्तै एकिकृत सम्पत्ति करको बिल नागरिकको घरमै पु¥याउने व्यवस्था गर्न महानगरपालिकासँग माग गरे ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पाखिलेले आफ्नो एक वर्षको कार्यकालमा भए गरेका गतिविधीबारे चर्चा गर्दै पोखराको समग्र विकासका लागि संघ क्रियाशिल भएर अगाडि बढेको बताए ।
संघको पहलमा चीनबाट पोखराको लागि एक हजार थान सौर्य बत्ती जडान, थप एक हजार थान सौर्य बत्तीको लागि पहल, मर्दी खोला मुहान सफाई लगायतका अभियानबारे जानकारी दिए । एउटै महानगरमा दुई संघको आवश्यकताबारे चर्चा समेत गरे ।
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ शर्माले राजश्व समयमै व्यवस्थित रुपले तिर्न व्यवसायीहरुसँग आग्रह गरे । आन्तरिक राजश्व कार्यालयले यहाँका सबैजसो व्यवसायीहरुको गतिविधीको शुष्म अध्ययन गरिरहेको दावी गर्दैै कर छल्न खोज्नेहरुलाई कारवाही गरिने प्रष्ट पारे ।
स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदी, उत्कृष्ट बस्तुगत संघ सम्मानबाट सम्मानित फेन्सी तथा रेडिमेड व्यवसायी संघ, पोखराका अध्यक्ष केशवबहादुर खत्री, संघका पूर्व अध्यक्ष बसन्त उदास, पूर्व अध्यक्ष रमेश कर्माचार्य लगायतले बोलेका थिए । पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद तथा महासचिव दामु अधिकारीले सञ्चालन गरेका थिए । अधिवेशनमा बन्द सत्रले महासचिव दामु अधिकारीको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष पवनकुमार प्रजापतिको आर्थिक प्रतिवदेश पारित गरेको थियो ।
सो अवसरमा पोखरा उद्योग वाणिज्य संघले जागिर खोज्ने र दिनेहरुलाई सजिलो बनाउनका लागि निर्माण गरिएको अनलाइन जब पोर्टलको समुद्घाटन तथा महिला उद्यमीहरुको लागि निर्माण गरिने तालीम कक्षको शिलान्याश समेत गरियो । कार्यक्रमका प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जब पोर्टलको उद्घाटन र तालिम कक्षको शिलान्याश गरेका थिए ।
