
रञ्जन अधिकारी पोखरा, २९ भदौ / पोखराको सभागृहचोकमा अत्याधुनिक सुविधा सम्पन्न मल्टिप्लेक्स हल सञ्चालनमा आएको छ ।
पोखरामा २८ वर्ष देखी चलचित्र व्यवसायमा संलग्न द्वा परिवारले मिड टाउन ग्यालेरिया निर्माण गरी एकै कम्प्लेक्समा दुई वटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएका हुन् । तेर्सापट्टी स्थित विन्ध्यवासिनी, बाराही क, ख र श्रीकृष्णका साथै बुटवलमा कालिका हल सञ्चालन गरिरहेको द्वा समूहले मध्यम र उच्च वर्गलाई लक्षित गरी सुविधा सम्पन्न हल सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
मिड टाउन ग्यालेरिया पृथ्वीचोक, न्युरोड, नयाँबजार क्षेत्रकै प्रमुख कम्प्लेक्स हो । सिनेमा हलको कुरा गर्ने हो भने यस क्षेत्रमा कुनै पनि सिनेमा हल छैनन् । डेढ दशक अघि नै नयाँबजारको दीपज्योति हल बन्द भईसकेको छ । फिल्म हेर्न तेर्सापट्टीमा कल्पना लगायत, न्युरोडको पूर्णिमा हल, ट्रेडमलको क्यूएफएक्स नै पुग्नुपर्ने बाध्यता पनि थियो ।

कम्पनीका अध्यक्ष उत्तम द्वाले अन्तर्राष्ट्रिय गुणस्तरको आधुनिक प्रविधि युक्त हल रहेको बताए । यतिको सुविधायुक्त सिनेमा हल पोखरामा अरु छैनन् । प्रबन्ध निर्देशक निकेश द्धाले अब आरामदायी रुपमा सिनेमा हेर्न पोखराबासीलाई अन्यत्र जानु नपर्ने बताए । आधुनिक उपकरण र साउण्ड सिस्टम जडान गरिएको उनले बताए । मिड टाउन ग्यालेयरिया सिनेमाजबाट निर्माण भएको हलमा आरामदायी सिट र एसी जडान गरेको उनले बताए ।
‘दुई वटा मल्टिप्लेक्स हलमा एउटामा १ सय ७३ र अर्कोमा १ सय ८२ सिट क्षमताका छन् ।’ हल संचालक द्वाले प्रस्ट पारे । उनले मल सहित २८ करोड र हललाई ८ करोड खर्च भएको बताए ।
मलमा ३० वटा भन्दा बढी ब्राण्डका १४ वटा व्यावसायिक प्रतिष्ठानले ग्यालेरियामा ब्राण्डेड सामानहरु राख्ने प्रबन्धक निकेश द्वाले जानकारी दिए ।
मल्टिप्लेक्स हलमा चलचित्र हेर्नका लागि शुक्रबार, शनिबार र सार्वजनिक बिदाको दिन ३ सय ५०, मंगलबार र बिहान ८ बजेको सोका लागि १ सय ७५ र अन्य बारमा २ सय ५० रुपैया तिर्नु पर्ने द्वाले बताए ।

पत्रकार सम्मेलन नै गरी हल औपचारिक सञ्चालनमा आएको जानकारी गराईएको हो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले तीन पुस्तासम्म एकै व्यवसाय अंगाल्नु सराहनीय भन्दै अपडेटेड हुन नसक्दा आउटडेटेड हुने भएकाले यसरी पोखरामै सुविधासम्पन्न हल बनाउनु खुशीको कुरा भएको बताए । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम बिकले उच्च गुणस्तरको सुविधासम्पन्न हलमा बसेर चलचित्र हेर्ने वातावरण प्रदान गरेकोमा आभार प्रकट गरे ।
