
रञ्जन अधिकारी पोखरा, ५ असोज / ईञ्जिनियरिङ पढाई हुने मुलुककै प्रतिष्ठित शैक्षिक थलो ईञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा विद्यार्थीबाटै हुलहुज्जत, तोडफोड भएको छ । क्याम्पसका स्ववियू सभापतिको छात्रावासको कोठा फोडेर आगजनी गरिएको छ ।
बुधबार राति नेवि संघ क्याम्पस एकाई सभापतिको टोलीले होस्टल भित्र प्रवेश गरी यस्तो कार्य गरेको सुरक्षामा खटिएका कर्मचारीले जनाएका छन् । एकाई सभापति अमन भुषाल, टेक पनेरु र सागर चौहानको टोलीले हुलहुज्जतका साथ होस्टल फोडेर भौतिक क्षति पु¥याएको रिपोर्ट उनीहरुले क्याम्पसलाई बुझाएका छन् । आक्रमणबाट स्ववियू सभापति इन्द्र पौडेलको कोठाको फर्निचरमा क्षति पुगेको छ भने कपडाहरु जलाईएका छन् । स्ववियू सभापति एमाले निकट अनेरास्ववियूका हुन् ।
सुरक्षा टोलीले क्याम्पस प्रमुखलाई बुधबारको बिहानदेखि रातिसम्मको घटनाको विवरण बुझाएका छन् । बुझाएको रिपोर्टमा स्पष्टसाथ हुलहुज्जतमा संलग्न व्यक्तिको नाम किटान गरिएको छ । उनीहरु होस्टल बाहिर बस्ने विद्यार्थी हुन् । होस्टल प्रवेश गर्ने क्रममा पटकपटक सुरक्षा गार्डमाथि नै जाईलागेको पनि उनीहरुले क्याम्पस प्रमुखलाई जानकारी गराएका छन् ।
घटनाबारे विहीबार बिहान बुझ्दा क्याम्पस प्रमुख रामप्रसाद पौडेलले आफूलाई थाहा नभएको बताए । जानकारी नआएको भनेर तर्किरहँदा होस्टल नबस्ने विद्यार्थी क्याम्पस होस्टलमा पुगेर ढोका फोडेर सामान भाँचेर कपडा जलाएका छन, सुरक्षागार्डले त घटना लगत्तै जानकारी गराएको हो नि ? भन्ने प्रश्न गर्दा उनले अझै अनविज्ञता प्रकट गरे । घटनालाई गुपचुप राख्न खोजेका क्याम्पस प्रमुख पौडेल ठाडो बोलीमा प्रस्तुत हुँदै मैले किन स्पष्टीकरण दिनुपर्ने ? भनेर पन्छिन खोजे । उनलाई साँझ सम्पर्क गर्दा फोन उठेन । एमाले निकट क्याम्पस प्रमुख भनेर चिनिने उनलाई काँग्रेस निकट नेबि संघ मुछिएको कारण तर्केको स्पष्ट हुन्थ्यो ।
क्याम्पस प्रमुखले थाहा छैन भनिरहँदा रिपोर्टमा भने बेलुका ९ बजे हुलहुज्जत हुने बेला नै जानकारी गराएको लेखिएको छ । हेड सुरक्षा गार्ड धनप्रसाद पौडेलले पनि यसको पुष्टि गरेका छन् । सुरक्षा गार्ड नरेश गुरुङलाई लछारपछार गर्दै उनीहरु अगाडि बढेका थिए । उनीहरु होस्टल बस्ने विद्यार्थीकै समूहमा अघि बढ्न खोज्दा सोधखोज गर्ने क्रममा निहुँ खोजेर झगडा गर्न अघि बढेपछि क्याम्पस प्रमुखका साथै होस्टल वार्डेन जिवन देवकोटा र प्रकाश ढकाललाई पनि जानकारी गराएका थिए ।
होस्टल वार्डेन जीवन देवकोटालाई विहीबार पूर्वान्हमा सम्पर्क गर्दा उनले बल्ल आफू बुझ्न क्याम्पस आएको बताए । साँझ नै तपाईं जानुभएको हो नि ? भन्ने प्रश्नमा उनले आफू आउँदा घटना नभएको जिकिर गरे । देवकोटाले थाहा नै नभएको भनेपनि रिपोर्टमा क्याम्पस प्रमुख र दुवै जना वार्डेनलाई जानकारी गराईएको प्रष्ट छ ।
दुई वार्डेन र सुरक्षा गार्ड गरी चार जना उनीहरु बसेको बी ब्लकको १०६ नं. कोठामा गएर सम्झाउँदा एकाई सभापति भुषालले मनपरी बोलेर हाल्न खोजेको कारण बाहिर निस्केको, सम्झाउने क्रममा पनि निहुँ खोज्ने क्रम नरोकिएपछि विजयभुषण झाले सम्झाएको उल्लेख छ । सी ब्लकको ३१० कोठामा जन्मदिन मनाएर नाचिरहेका विद्यार्थीहरु हेर्न जाँदा झ्यालको सिसा फुटेको, ११ बजेपछि पुनः हेर्न जाँदा सिरक जलाईएको, डस्टबिनमा कपडा भेटिएको जनाईएको छ ।
हुलहुज्जत हुने क्रममै प्रहरीलाई जानकारी गराएपछि वडा प्रहरी कार्यालय बगरबाट टोली त्यहाँ पुगेको थियो । विद्यार्थी बीचकै आन्तरिक कुरा हो भनेपछि टोली फर्किएको वडा प्रहरी कार्यालय बगर प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले बताए । आरोपित नेवि संघ क्याम्पस एकाई सभापति अमन भुषाललाई बिहान सम्पर्क नभएपनि उनी बेलुकी सम्पर्कमा आए ।
उनले आफू घटनामा नमुछिएको जिकिर गरेका छन् । भुषालले घटनालाई बढाईचढाई बाहिर ल्याएको भन्दै आपत्ति प्रकट गरेका छन् । ‘घटना भएको हो तर म साढे आठ बजेमात्र त्यहाँ छु । सभापति लक्षित आक्रमण भएको छैन ।’ – उनले भने,– ‘सभापति पौडेल पनि बाहिर नै बस्छन् । अहिले दुई जना गौरव पाल र हेमन्त कलोनी बस्थे । उनीहरुले नै भन्छन् कसको सामान हो ।’ भुषालले आफूले केहि गल्ती नगरेको, आफूले आफू पनि छानविनकै क्रममा रहेकाले स्पष्ट रुपमा कुरा बाहिर ल्याउने बताए ।
यस विषयमा सभापति पौडेलले भने परिक्षाको समयमा आफू साथीसँग बस्ने गरेको बताए । ‘त्यो कोठा कसको हो ? भन्ने सवालमा बुझ्न म चुनौति दिन्छु । क्याम्पसमा स्पष्ट साथ मेरो नाम छ । प्रमाण उपलब्ध गराउन सक्छु । सामान मेरै हो । म नहुँदा भाइहरु बस्छन् । ’ –उनले भने– मलाई नै लक्षित गरेर आक्रमण गर्ने उद्देश्यले गएका हुन् । यसमा कुनै सन्देह छैन ।’ यसको खण्डन गर्दै भुषालले क्याम्पस प्रमुख आफू बचेर सहायक क्याम्पस प्रमुख अघि सारेको आरोप लगाउँदै क्याम्पस प्रशासनको मिलेमतोमा जे पनि गर्न सक्ने आरोप लगाए ।
बिई जिओम्याटिक्स अन्तिम सेमेस्टरका स्ववियू सभापति पौडेलले आफू साथीको कोठामा भएको कारण ज्यान बचेको बताए । रुम पार्टनर किरण न्यौपाने समेत नभएको अवस्थामा जन्मदिनमा खाएर आएको हुलले आफूलाई जे पनि गर्न सक्ने भएकाले भाग्यवश आफू बच्न सकेको उनले उल्लेख गरे । उनले लोकतान्त्रिक भन्ने पार्टी शुभेच्छुक संगठनको जिम्मेवार पदमा आसिन व्यक्तिले आतंककारी शैलीमा गरेको निन्दनीय हर्कतप्रति दुःख व्यक्त गरे ।
गत स्ववियू निर्वाचनमा सभापतिमा पौडेल निर्वाचित भएका हुन् । १९ सदस्यीय स्ववियूमा सभापति र तीन जना सदस्य अनेरास्ववियूले जितेको थियो । सचिव, कोषाध्यक्ष र तीन सदस्य नेवि संघ, उपसभापति र एक सदस्य अखिल क्रान्तिकारीको छ ।


