
विहीबार साँझ ६ बजे पोखरा माईक्रोबसले ईलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा पोखरा लेखनाथ १९ लामाचौर निवासी राम भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।
बगरदेखि लामाचौरतर्फ गईरहेको ग १ ख ६४५४ नम्बरको बसले स्कुटरमा सवार भण्डारीलाई ठक्कर दिएको हो । स्कुटर बस मुनी पसेको थियो भने भण्डारीको टाउको क्षतविक्षत भएको छ । ४८ वर्षीय भण्डारीको शरीर नै टायरले किचेको थियो ।
भण्डारीको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । बस चालक र बस प्रहरी नियन्त्रणमा रहेको छ ।
पोखरामा दिनहुँ जसो सवारी दुर्घटना हुन थालेको छ । बुधबार मात्रै मध्यान्ह मालेपाटनमा दुई मोटरसाईकल ठक्कर खाँदा घाईते महिलालाई हेलिकोप्टर नै चार्टड गरी काठमाण्डौ लगिएको थियो ।बेलुकी ७ बजे अमरसिंहचोकमा कार र मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालक गम्भिर घाईते भएभने कारमा सवार दुई जना पनि घाईते भएका थिए ।
