क्षेत्र नम्बर २ मा काँग्रेसको जीत पक्का : देवराज चालिसे

573
0
Share:

बिग न्यूज
पोखरा, २५ कात्तिक । नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका देवराज चालिसेले काँग्रेसले यो पटक त्यस क्षेत्रमा जीत निकाल्ने दाबी गरेका छन् । उनले अबको समय काँग्रेसले जीत्ने समय भएको बताएका छन् ।

उनले चुनावलाई फुटबल खेलसँग तुलना गर्दै भने–‘यसअगाडि एमालेले दुई गोल हान्यो । यो बेला मध्यान्तरको हो । अब लगालग ५ गोल गरेर जीत हाम्रो पक्षमा निकाल्नेछौँ ।’ वडा नम्बर १७ मा आयोजित कार्यक्रममा बोल्दै उनले यसो भनेका हुन् ।

साथै उनले जनताले हाल्ने भोट भ्रष्टाचार गर्ने लाइसेन्स हुन नहुने समेत बताए । उनले यसअगाडि निर्वाचित प्रतिनीधिले यस क्षेत्रको लागि कुनै विकासे काम नगरेको आरोप समेत लगाए । ‘काम जति अरुले गर्ने अनि जस मात्रै आफुले लिने काम गरेका छन् यस अगाडिका निर्वाचित प्रतिनीधिले । जनताले उनका फोस्रा गफमा विश्वास अब गर्नेछैनन् ।’ चालिसेले भने ।

‘के पायो पोखराले ?’ भनेर एकचोटी सबैले सोँच्नुपर्ने बेला आएको चालिसेले बताए । ‘जापान सरकारको सहयोगमा पोखरामा आवश्यक खानेपानीको लागि आएको ७ अर्ब सहयोग पनि मैले नै ल्याएको भन्न भ्याउँछन् । यो कहाँसम्मको राजनीतिक चरित्र हो ?’ चालिसेले प्रतिप्रश्न गर्दै भने–‘जनतालाई झुक्याउने कुराको पनि एउटा हद हुन्छ नी ।’

साथै उनले राजनीति सेवा भएकोले अतिरिक्त आम्दानीका लागि राजनीति नगर्न सुझाव समेत दिएका छन् । हालसम्म निर्वाचित भएका जनप्रतिनीधि निदाएर बसेकै कारणले पोखराको विकासले गति लिन नसकेको उनले आरोप लगाए । ‘साँच्चैको विकासको प्रत्याभूती गर्नका लागि काँग्रेसलाई भोट दिनुस् ।’ उनले जनतासमक्ष आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
Share: