
बिग न्यूज
पोखरा, २८ कात्तिक । नेपाली काँग्रेस क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार शुक्रराज शर्माले टुटेको मनलाई जोड्न काँग्रेसमा मतदान गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस पोखरा लेखनाथ वडा नं. १९ को चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै नेता शर्माले टुटेको मनलाई जोड्ने सामर्थ काँग्रेसमा मात्रै भएको बताए ।
‘कहिले कम्युनिष्टको नाममा, कहिले धर्मको नाम त कहिले जातको नाममा नेपालीको मन टुटाउने र फुटाउने काम गरिएको छ’–शर्माले भने–‘काँग्रेस टुक्रा टुक्रा भएको मनलाई जोड्न पुलको काम गर्ने छ, त्यसैले पनि काँग्रेसलाई मतादान गर्न आवश्यक छ ।’ उनले लामाचौर क्षेत्रमा प्रजातान्त्रिकवादीले ज्यादै कष्टकर जिवन विताएको स्मरण गर्दै लोकतन्त्रको स्थापनासँगै अहिले सहज रुपमा कार्यक्रम गर्न सक्ने वातवरण वनेको बताए ।
‘यस क्षेत्रको मुहार परिवर्तन गर्न पनि हामी उम्मेदवार भएर आएकोले यहाँका मतदाताले परिवर्तनको पक्षमा मत हाल्ने विश्वास लिएको छु ।’ उनले भने । स्थानीय समस्या समाधानमा नै सधै लागि परेको बताउदै नेता शर्माले आफ्नो जीतले समग्र क्षेत्रको विकासले फड्को मार्ने विश्वास दिलाए ।
क्षेत्र नं. ३ प्रदेश सभा (क) कि उम्मेदवार शारदा पौडेलले यस क्षेत्रको विकासमा सधै अहोरात्र खटिने विश्वास दिलाइन्। ‘यस अघि पनि साविक क्षेत्र नं. २ मा मलाई यस क्षेत्रको जनप्रनिधि वनाएर पठाउनु भयो, त्यहि अनुरुप यहाँको विकासमा म कटिवद्ध भएर लागे’–उनले भनिन्–‘फेरी तपाईहरुका माँझ आएकी छु । यहाँहरुले पुन विजयी गराए पठाएमा वाकि अधुरा काम पुरा गर्ने अवसर पाउने थिए। पुन सेवा गर्ने मौका दिनुहुन्छ भन्ने अपेक्षा गरेकी छु।’
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य रामचन्द्र त्रिपाठी, दिपक गुरुङ, महाधिवेशन प्रतिनिधि वावुराम आचार्य, नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डे, जिल्ला सदस्य शंकर ढुंगान दलित परिचाल समिति पोखरा लेखनाथ–१९ का संयोजक रविलाल सुनार,स्थानीय समाजसेवी दिलबहादुर अधिकारीलगायतले बोलेका थिए।
नेपाली काँग्रेस पोखरा लेखनाथ–१९ इकाइ संयोजक महेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रचार प्रचार समितिका संयोजक रामप्रसाद श्रेष्ठले स्वागत र सचिव विष्णु बास्तोला प्रकाशले कार्यक्रम सञ्चालन गरेका थिए । यसैगरी मंगलबार नै पुरुञ्चौर र सार्दिखोलमा पनि कोण सभाको आयोजना गरिएको थियो। कोण सभामा बोल्ने अधिकांश वक्ताहरुले लोकतन्त्रलाई संस्थागत गर्न पनि काँग्रेसमा मतदान गर्न आह्वान गरेका थिए।
