
बिग न्यूज
पोखरा, १५ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत रहेको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८ माझठानामा शुक्रबार काँग्रेसका उम्मेदवारहरुले चुनावी कोणसभामा सम्बोधन गरेका छन् । प्रतिनीधिसभा उम्मेदवार यज्ञबहादुर थापा र प्रदेश सभातर्फका उम्मेदवार कृष्ण केसीले माझठानामा चुनावी सम्बोधन गर्दै नेपाली काँग्रेसको पक्षमा त्यहाँका जनतासँग भोट मागे ।
‘नेपाली काँग्रेसको जीत पछि नेपालको सम्पूर्ण क्षेत्रले गति लिनेछ । अहिले यो निकै संवेदनशिल अवस्थामा देश गुज्रिएको छ । र, एकथरीले यहि संवेदनशिल समयलाई सदुपयोग गरि आफ्नो गलत नियत पुरा गर्ने योजना बनाईरहेको अवस्था पनि छ ।’ कोणसभालाई सम्बोधन गर्दै प्रतिनीधिसभा सदस्यका उम्मेदवार तथा कानुन मन्त्री यज्ञबहादुर थापाले भने–‘त्यसैले सँधै जनताको साथमा हिँडिरहेको काँग्रेसलाई जिताउनुको कुनै विकल्प अहिले छैन ।’
थापाले अहिलेको चुनाव पार्टीको जीत हार सँग नभई पद्दतीसँग जोडिएकोले जनताले कस्तो पद्दती रोज्ने ? भन्ने कुरालाई बढि जोड दिनुपर्ने बताए । उनले वामगठबन्धनको नाममा देशमा एकतन्त्रीय शासनपद्दती ल्याउने प्रयत्न गरिएको भन्दै त्यसो हुन नदिनका लागि काँग्रेसलाई भोट दिन अनिवार्य रहेको प्रस्ट्याए ।
त्यस्तै कोणसभामा सम्बोधन गर्दै कास्की क्षेत्र नम्बर १ प्रदेश ख तर्फका उम्मेदवार कृष्ण केसीले लोकतन्त्र बचिरहेँ मात्रै विकास र सम्बृद्धि सम्भव भएकोले लोकतन्त्र बचाउनेलाई भोट हाल्ने जनतासँग आग्रह गरे । ‘अहिले विपक्षीहरु सिधै अधिनायकबाद लाद्ने कुरा गरिरहेका छन् । जुन जनताको स्वतन्त्रता र लोकतन्त्रको विरोधी कुरा हो । त्यसैले सम्बृद्धि चाहने जनताले लोकतन्त्रको पक्षधर काँग्रेसलाई नै भोट हाल्नुहोला ।’ केसीले भने–‘यदि काँग्रेसले हा¥यो भने देश र लोकतन्त्रले हार्नेछ । अनि देश द्वन्दमा फँस्नेछ । र, त्यसको प्रत्यक्ष असर जनताले भोग्नुपर्नेछ ।’
कोणसभामा नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति सुदिपमोहन भट्टराई, कोषाध्यक्ष लक्ष्मी पाण्डे, क्षेत्र नम्बर १ प्रदेश ख का प्रचार सँयोजक सरस्वती गुरुङ, जिल्ला प्रतिनीधि तुलसिनारायण श्रेष्ठ, जिल्ला सदस्य नविन सिग्देल, क्षेत्र नम्बर १ का सभापति वृजमान गुरुङ, पूर्व महाधिवेशन प्रतिनीधि विरबहादुर बुढाथोकी, क्षेत्रीय प्रतिनीधि सुरेन्द्र अधिकारी, वडा नम्बर २८ का काँग्रेस ईकाई सभापति विकास गुरुङ, उपसभापति शिव अधिकारी, तरुण नेता राधाकृष्ण तिवारी लगाएतले काँग्रेसको पक्षमा भोट हाल्न माझठानाबासीलाई आग्रह गरेका थिए ।
साथै पोखरा १३ मा पर्ने आर्वाको विजयपुरमा पनि काँग्रेसको चुनावी घरदैलो शुक्रबार भएको छ । घरदैलोमा प्रदेशसभातर्फका उम्मेदवार कृष्ण केसी सहभागी भए । उनले विजयपुरको विकासको लागि आफु सँधै कटिबद्ध भएको घरदैलोको क्रममा प्रतिबद्धता जनाए ।
