
बिग न्यूज
पोखरा, १६ मंसिर । कास्की क्षेत्र नम्बर २ मा प्रतिनीधिसभातर्फ काँग्रेसबाट उम्मेदवारी दिएका देवराज चालिसेले मतदातालाई मत हाल्ने बेलामा ‘तीन चोटी’ सोँच्न आग्रह गरेका छन् । उनले मतदाताहरुलाई ‘बारम्बार एउटै व्यक्तिलाई निर्वाचित गराईरहँदा पनि परिवर्तनको आभास पाउन नसकेको’ कुरालाई मनन गर्दै भोट हाल्ने निर्णय लिन सुझाए ।
चुनावी अभियानको क्रममा वडा नम्बर ३३ मा पर्ने लेखनाथको गैरीगाऊँ हुँदै वरपाण्डेथुम थुमा, वरमाझथर सिलिंगे, धारापानी, वरपौवा कुर्लिङ चवादी लगाएतका स्थानमा पुगेका चालिसेले जनमत स्थिर रहेको खण्डमा कुनै पनि खालको परिवर्तन आउन नसक्ने ठोकुवा गरे । ‘अहिले मतदाताहरुले हाम्रो क्षेत्रमा दुईवटा कुरा सोँच्न आवश्यक छ । पहिलो लोकतन्त्र रोज्ने कि साम्यबाद, अनि दोस्रो भनेको विकास रोज्ने कि कसैको कमाउने भाँडो ?’ उनले भने । उनले अघिल्ला निर्वाचित सदस्यले जनताको भोटलाई कमाई खाने ‘लाइसेन्स’को रुपमा उपयोग गरेको आरोप समेत लगाए ।
त्यस्तै कास्की क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ख तर्फका उम्मेदवार बिन्दुकुमार थापा पनि यतिबेला आफ्नो प्रचारलाई तिव्रता दिईरहेका छन् । उनी पार्टीको सेड्युलअनुसारको घरदैलो, भेटघाट, चुनावी सभाहरुमा सहभागी भैरहेका छन् ।
