
रेम बिक
पोखरा, ७ पुस । ६ जना बडिगार्डसहित अभिनेता कुशल थापा स्टेजमा उक्लिँदा दर्शकदिर्घाबाट चर्को हुटिङ आयो । पोखरा सभागृहस्थित ‘मिडटाउन ग्यालरिया’को प्राङ्गणमा आयोजित नेपाली फिल्म ‘ह्याप्पी न्यू इयर’को प्रचारको क्रममा भएको साँगीतिक कार्यक्रममा उनी बडिगार्डसहित देखिएका हुन् ।
अनमोल केसी र प्रदिप खड्का पनि यसअगाडि यसैगरि बडिगार्डसहित फिल्मको कार्यक्रम तथा हल परिसरमा देखिएका थिए । पछिल्लो पटक अभिनेता कुशल थापाले पनि सोहि शैली अपनाउँदै आफुलाई पोखरामा यसरी प्रस्तुत गरे । स्टेज उक्लिसकेपछि कार्यक्रमको होस्ट गरिरहेका संचारकर्मी श्यामहरि शिवभक्तिले सोधे–‘अनमोल र प्रदिपको सिको गरेको हो हजुरले ?’ अभिनेता कुशलले भने आफुले उनीहरुको सिको गरेको भन्दा पनि पोखरा आफ्नो जन्मथलो भएको र आफ्ना साथीभाईले आफुलाई माया गरेर सुरक्षा प्रदान गरेको प्रतिक्रिया दिए ।
अभिनेता थापाले ‘ह्याप्पी न्यू इयर’को बारेमा बताउँदै पोखरेलीलाई फिल्मलाई माया गरिदिन आग्रह समेत गरे । ‘मैले यो फिल्ममा निकै मेहेनत गरेको छु । र, फिल्म निकै राम्रो बनेको छ । त्यसैले आफ्नै ठाऊँको एउटा कलाकारले गरेको कामलाई साथ दिनुहुन सम्पूर्ण पोखरेलीलाई म विशेष अनुरोध गर्दछु ।’ रती थापाले निर्माण गरेको फिल्म ‘ह्याप्पी न्यू इयर’मा कुशल मूख्य अभिनेता हुन् ।
पुस १४ गतेदेखि देशव्यापी प्रदर्शन हुने फिल्म ‘ह्याप्पी न्यू इयर’ले नेपालका मुख्य शहरहरुमा प्रचारमा नयाँ तरिका अपनाउँदै ‘म्यूजिकल कन्सर्ट’ गरिरहेको छ । हेटौडाबाट शुरु भएको ‘म्यूजिकल टुर’ अन्तरगत नारायणघाट र बुटवलपछि फिल्मको यूनिटसहितको साँगीतिक टोली पोखरा आईपुगेको हो ।
शुक्रबार साँझ पोखरामा भएको फिल्मको कार्यक्रममा फिल्मका संगीतकारसमेत रहेका बिनोद ढकालले गायन प्रस्तुती दिएका थिए । त्यस्तै कोरियोग्राफर रोहन नेपालीको नृत्य प्रस्तुती पनि विशेष रह्यो । मोडल सोनिका रोकाया पनि कार्यक्रममा विशेष आकर्षणमा रहिन् । चिसो जाडो भएपनि निकै छोटो पहिरनमा स्टेजमा देखिएकी सोनिकाले युवाहरुको ‘हुटिङ’ निकै चर्को पाईन् । त्यसैगरि सुशिल खड्काको ‘ट्यूबलाइट डान्स’ पनि दर्शकको आकर्षणमा प¥यो ।
पोखरापछि फिल्मको प्रचारटोली काठमाण्डौ फर्कनेछ । काठमाण्डौमा फिल्मको प्रचारस्वरुप अन्तिम साँगीतिक कार्यक्रम गरिने फिल्मका अभिनेता कुशल थापाले जानकारी दिए । आरकेएम प्रोडक्शन प्रालिको प्रस्तुतीमा बनेको फिल्म ‘ह्याप्पी न्यू इयर’लाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । कुशल थापा, सन्ध्या केसी, पुकार गौतम लगाएतका कलाकारहरुको मूख्य भुमिका रहेको फिल्मको सम्पूर्ण छायाँकन अष्ट्रेलियामा भएको हो । फिल्मको कथा समेत आफैले लेखेका अभिनेता थापाले यो फिल्मबाट आफू निकै आशाबादी रहेको सुनाए ।
फिल्मको गीत र ट्रेलरलाई यतिबेला सामाजिक संजालहरुमा निकै राम्रो प्रतिक्रिया मिलेको छ । फिल्ममा विनोद ढकाल र टंक बुढाथोकीले संगीत दिएका छन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्मलाई अष्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेले खिचेका हुन् ।


