काठमाण्डौमा गुम्बा निर्माणका लागि गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको ‘विशेष पूजापाठ’

Share:

बिग न्यूज
पोखरा, २१ पुस । गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रको आयोजनमा काठमाण्डौमा विशेष पूजापाठ हुने भएको छ । ‘अहिंसा परम धर्मको चाहना, विश्व सर्वशान्तिको कामना’ भन्ने नारासहित पूजापाठ हुन लागेको हो । काठमाण्डौको नव बुद्ध गुरुङ सेवा समितिको परिसरमा पूजापाठ हुने समाजले जनाएको छ ।

समाजको केन्द्रिय भवन एवं गुम्बा निर्माणका लागि पूजापाठको आयोजना गरिएको समाजका अध्यक्ष खेम्पो रिन्पोछे डा. शिर लामा गुरुङले जानकारी दिए । पूजापाठ पुसको २५ गते शुरु भई २८ गतेसम्म चल्नेछ ।

पूजापाठको पहिलो दिन पुसको २५ गते दुझ्योम याङ्सी रिन्पोछेको बाहुलीबाट विशेष अभिषेक तथा लुङ (आगम) लिने कार्यक्रम रहेको समाजले जनाएको छ । त्यस्तै २६ र २७ गते दिनभरि नै दोर्जे फूर्पा (बज्र किलाय) पूजा, २७ गते रिन्पोछे डा. शिला लामा गुरुङ तथा अन्य बौद्ध धर्म गुरुहरुबाट धार्मिक प्रवचन, २८ गते विहान रिग्जिन दुईपा पूजा र धार्मिक प्रवचनको साथमा कार्यक्रमको समापन गर्ने कार्यक्रम रहेको समाजले जनाएको छ ।

कुकुर वर्ग, बाघ, घोडा, गिद्ध, गाई र भेडा वर्गको ग्रह चलिरहेकोले समाजले पूजामा सहभागी भएर धर्मको पुण्य लाभ र ग्रहदशा स्वस्ती शान्तिका लागि सम्पूर्णलाई आग्रह समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: