
पोखरा, १ माघ / कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ स्थित सुईखेतमा सोमबार साँझ दुई मोटरसाईकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाईते छन् ।
हेम्जाबाट फेदीतर्फ गईरहेको ग ७ प ७१३४ नम्बरको मोटरसाईकलमा सवार हेम्जाका ४५ वर्षीय घनश्याम त्रिपाठीको ज्यान गएको हो । उनले चलाएको मोटरसाईकल विपरित दिशाबाट आईरहेको लु ५ प ३९१४ नम्बरको मोटरसाईकलसँग साँझ सवा ६ बजे ठोक्किएको थियो ।
त्रिपाठी पछाडि सवार माछापुच्छ्रे ७ धम्पुस बस्ने ४२ वर्षीय कमल भण्डारी गम्भिर घाईते भएको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए ।
यस्तै, पाल्पा घर भई पोखरा नदिपुर बस्ने अर्का मोटरसाईकल चालक २१ वर्षीय आनन्द रसाईली र २१ वर्षकै समिर रसाईली घाईते छन् । घाईतेको अहिले फिस्टेल हस्पिटलमा उपचार भईरहेको छ । घटना लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक श्रेष्ठ सहितको टोली घटनास्थल पुगी घाईतको उद्दार गरेको थियो ।
टाउको र निधारमा चोट लागेका त्रिपाठीलाई मनिपाल शिक्षण अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । धम्पुसका भण्डारीको भने दाहिने नली खुट्टामा गहिरो चोट लागेको छ र मुखमा समेत चोट छ ।
चालक रसाईलीको भित्री चोट छैन भने पछाडि बस्ने समिरको टाउकोमा रगत जमेकाले गम्भिर अवस्था रहेको अस्पताललाई उद्दृत गर्दै प्रहरीले जानकारी दियो ।
