
पोखराबाट निर्माण भएको सामाजिक चलचित्र ‘अग्निदहन’ राष्ट्रिय अवार्डबाट पुरस्कृत भएको छ । नेपाल चलचित्र विकास बोर्डबाट हरेक वर्ष प्रदान गर्दै आईरहेको विशेष चलचित्र पुरस्कारबाट यस वर्ष ‘अग्निदहन’ पुरस्कृत भएको हो । समाजमा बोक्सीप्रथालाई लिएर घटिरहेका घट्नामा आधारित चलचित्र ‘अग्निदहन’ले पुरस्कार स्वरुप दुई लाख रुपैयाँ प्राप्त गरेको छ ।
यसैबीच, पोखरा फिल्मस् सोसाईटीको आयोजना, चलचित्र पत्रकार संघ कास्कीको संयोजनमा एक कार्यक्रम आयोजना गरी फिल्म निर्माण युनिट र पोखराका सञ्चारकर्मीसँग खुशी साटासाट गरियो । सो अवसरमा बधाई तथा सम्मान पनि प्रकट गरियो ।
कार्यक्रममा निर्देशक घनश्याम लामिछानेले यति ठूलो अवार्ड पोखराले पहिलोपटक पाएको र यो सम्मान सम्पूर्ण पोखरेलीको सम्मान भएको बताए । उनले आफुले कुनै सम्मान वा पुरस्कार पाउन यस्तो चलचित्र निर्माण गरेको नभई समाजमा भएका अन्धविश्वास कुरितीलाई पर्दा मार्फत जनचेतनाका लागि प्रस्तुत गरिएको बताए ।
मान्छे बोक्सी हुन्न कहिल्यै प्रतिष्ठान नेपालको परिकल्पनामा बनेको चलचित्र अग्नीदहनलाई नै राज्यले नै अब अन्तराष्ट्रिय स्तरमा प्रदर्शनको वातावरण मिलाउने, फिल्म फेस्टिबल (ओस्कार) मा लैजान सक्ने उनले बताए ।
सोसाईटीका निवर्तमान अध्यक्ष एवं चलचित्र पत्रकार संघ कास्कीका सल्लाहकार समेत रहेका लामिछानेले सिनेमाले पुरस्कारका अलवा जुनसुकै समयमा पनि प्रर्दशन गर्न पाउने र नेपाल सरकारबाटै अन्तराष्ट्रिय अवार्डमा सरिक हुने बताए ।
चलचित्र अग्नीदहन सहित शिवराम अधिकारीको निर्देशन रहेको पञ्चायत पनि पुरस्कृत भएको हो । नेपाल सरकारको समन्वयमा चलचित्र अग्नीदहन अहिले नेपालका विभिन्न ९ जिल्लामा निःशुल्क प्रदर्शन भईरहेको लामिछानेले बताए ।
कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष राजाराम पौडेलले पोखराबाट निर्माण भएको सामाजिक चलचित्र अग्नीदहन पुरस्कृत हुनु गौरवको बिषय भएको बताए ।
पोखरा फिल्म सोसाइटिका अध्यक्ष जितेश प्रधानले अग्नि दहनले पाएको सफलताले पोखरामा क्रियाशिल कलाकर्मीहरुको हौसला बढाएको बताए । कार्यक्रममा कलाकारहरु प्रमिला तुलाचन, तुलसा जिसि, निर्मल लामिछानेलाई समेत सम्मान गरिएको थियो ।

