
पोखरा,साउन ३ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘पोखरा विमानस्थलको आफ्नै महत्व छ । जसरी भए पनि तोकिएको समयमा पूरा हुनुपर्छ । कुनै पनि बहानामा ढिलाइ गर्न पाइँदैन र मिल्दैन ।’प्रधानमन्त्री ओलीले विमानस्थलका लागि थप जग्गा आवश्यक पर्ने भए अधिग्रहण गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्रीले भने, ‘थप जग्गा आवश्यक भए अधिग्रहण गर्नुस्, गुणस्तरीय काम गर्नुस् । तोकिएको समयमा विमानस्थल निर्माण सम्पन्न गर्नुस् ।’प्रधानमन्त्री ओलीले विकास निर्माणका आयोजनाको अनुगमन गर्ने निकायको समेत अनुगमन गर्ने घोषणा यसअघि नै गरेका छन् । काममा ढिलासुस्ती गर्ने, बहाना निकालेर बस्ने तथा कमजोरी गरेर दोष दिने प्रवृत्तिको समेत अन्त्य गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले हालसम्मको कार्यसम्पादनमा सन्तोष व्यक्त गर्दै यस विमानस्थलको निर्माणमा प्रदेश सरकार, स्थानीय जनता, पोखरा महानगरपालिका, कार्यरत कर्मचारीसमेतको भूमिकाको प्रशंसा गरेका थिए ।पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु यान कम्पनीले महत्व दिई सेवा सञ्चालनमा चासो राखेको भन्दै उनले आज पोखरामा आयोजित कार्यक्रममा सोहीअनुसारको सेवा तथा सुविधाको प्रबन्ध गर्नसमेत निर्देशन दिए ।
प्रधानमन्त्रीले ‘ह्याङ्गर’, व्यवस्थित कार्यालय उपकरणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया तत्काल अघि बढाउनसमेत सम्बद्ध अधिकारीलाई निर्देशन गरे ।
