खाल्डोबाट उछिट्टिएर बस रोपाइँ खेतमा पुग्दा १९ यात्रु घाइते

Share:

पर्वत,साउन २१ । पोखराबाट मुस्ताङतिर गइरहेको यात्रुवाहक बस पर्वतमा दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।पोखरा–बाग्लुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोबाट उछिट्टिएर बस रोपाइँ १० फिट तल खेतमा परेको थियो । दुर्घटनामा घाइते १९ यात्रुमध्ये ६ यात्रुको अवस्था गम्भीर रहेकाले उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक डीएसपी दिलिप घिमिरेले बताए ।

सोमबार बिहान ७ बजे पोखराबाट जोमसोमका लागि छुटेको ग१ख ५५९८ नम्बरको यात्रुवाहक बस बिहान साढे ९ बजे दुर्घटना भएको हो । मोदी गाउँपालिका–६ बेतनीमा भएको दुर्घटनामा जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतबाट घटनास्थलमा सुरक्षाकर्मी टोली पुगेर उद्दार गरेको छ ।गम्भीर घाइते ६ जनालाई आकस्मिक उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरातर्फ पठाइएको छ भने सामान्य घाइते १३ जनालाई जिल्ला अस्पताल पर्वत पठाइएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: