
पोखरा, २१ साउन । गण्डकी प्रदेशको सरकारले १ हजार शैयाको अस्पताल बनाउने जग्गाको खोजी गर्न सुरु गरेको छ । सरकारले विशेष समिति गठन गरेर अस्पतालको पूर्व सम्भाब्यता अध्ययन गरिसकेको छ । सुविधा सम्पन्न पाँचवटा विशिष्टीकृत ९स्पेसलाइज्ड० रोगको उपचार गर्ने अस्पताल निर्माणको योजना अघि बढाएको हो ।
प्रदेशभित्र विशेष पूर्वाधार नहुँदा अहिले जटिल रोगका बिरामीले उपचारमा पोखरा बाहिर जानु पर्ने बाध्यता छ । धेरैले काठमाडौ र विदेशमा पुगेर उपचार गराउन बाध्य छन् । प्रदेश सरकारले एक हजार शैयाको ‘जनरल’ सहित मुटु, मिर्गौला, क्यान्सर, महिला र बालरोगको उपचार गर्ने गरी विशिष्टीकृत अस्पताल बनाउन योजना बताएको हो ।
प्रदेश सरकारले गठित अध्ययन टोलीले प्रतिवेदन सामाजिक विकास मन्त्री नरदेवी पुनलाई बुझाएको छ । गत जेठ २९ गते मन्त्रीस्तरीय निर्णयबाट प्राडा डुकबहादुर क्षेत्रीको संयोजकत्वमा चिकित्सक र अर्थशास्त्रका प्राध्यापक सहभागी एक टिम गठन भएको थियो । त्यही टिमले अध्ययन गरेर सामाजिक विकास मन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।
पूर्वाधार बनाउने ठाउँका लागि मात्र झन्डै एक दर्जन ठाउँ प्रश्ताव गरिएको छ । सार्वजनिक नगरिएको प्रतिवेदनमा पोखरा लेखनाथ महानगरभित्र र तनहुँको केही ठाउँ पूर्वाधार बनाउनका लागि सम्भावित क्षेत्र तोकिएको छ । सरकारी मापदण्डअनुसार एक सय शैयाको अस्पतालका लागि कम्तीमा २५ रोपनी जग्गा आवश्यक पर्छ । एक हजार शैयाका लागि कम्तीमा दुई सय ५० रोपनी जग्गा आवश्यक पर्ने प्रतिबेधनमा उल्लेख छ । त्यसबाहेक पाँचवटा विशिष्टीकृत रोगको उपचार गर्ने अस्पतालको पनि शैया तोकिएको छ ।
FROM GANTHAN NEWS
