
गण्डक न्युज, पोखरा । न्यूरोड स्थित पद्म नर्सिङ होमका शेयरधनी र सञ्चालकबीचको विवाद छताछुल्ल भएको छ । हस्पिटलमा दुई तिहाई शेयर रहेका नरेन्द्र बास्तोलालाई आउट गरेर अघि बढेको अल्पमत शेयरधनी सम्मिलित सञ्चालक समिति अहिले बास्तोला विरुद्ध उत्रिएका छन् ।
पोखरा उद्योग वाणिज्य संघको कर्पोरेट सदस्यमा उम्मेदवारी घोषणा गरिसकेका बास्तोला विरुद्ध सञ्चालक समिति लागिपरेको रहस्य समेत खुलेको छ । जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेपछि बास्तोला आफैले प्रेश विज्ञेप्ती प्रकाशित गरी यो विषय सार्वजनिक गरेका हुन् ।
गत पुस २२, २०७४ मा भएको प्रालिको साधारणसभामा ६८.३३ प्रतिशत शेयर रहेका बास्तोला आफै नोट अफ डिसेन्ट लेखेर प्रबन्ध निर्देशक पदबाट राजिनामा दिई बाहिरिएका थिए । त्यसपछि थोरै शेयर रहेकाहरुमध्येबाट डा. विनोद तुलाचनको अध्यक्षतामा सञ्चालक समिति गठन भयो । प्रवन्ध निर्देशकमा डा. यज्ञमान शाक्य छन् । सञ्चालक समिति सदस्यहरुमा डा. सुमिरन श्रेष्ठ, डा. डेला सिंह जोशी, डा. पविन थापा, डा. ऋषि शेरचन, डा. जगत खड्का छन् ।
२४ जना शेयरधनी रहेको कम्पनीमा हाल कायम ९ करोड पूँजीमा बास्तोला एक्लैको नाममा ६ करोड १५ लाख छ । बाँकी २ करोड ८५ लाख २३ जना हो । ती केहि अल्पमत शेयरधनीहरुको बल मिचाईले आफूलाई राजिनामा दिन बाध्य बनाएको र बहिस्कार बीच नै अवैधानिक रुपमा सञ्चालक समिति गठन गरिएको बास्तोलाको गुनासो छ ।
२०५२ सालमा स्थापित पद्म नर्सिङ होमसँग २०७२ सालमा नदिपुर स्थित बुद्ध हस्पिटल मर्ज भएको थियो । २०७१ मा डा. धर्म श्रेष्ठको बुद्ध हस्पिटल बास्तोलाको नाममा किनिएको थियो । यहाँ पनि कर छल्न डाक्टरहरुले यो हर्कत अपनाएको श्रोतको दाबी छ । बुद्ध हस्पिटलसँग गाभेपछि शेयर बाँडफाँड, खरिद विक्रीका क्रममा विवाद भएपछि अहिले नर्सिङ होममा यस्तो अवस्था आएको हो । उनीहरुले आफूले मात्र पाउनुपर्ने माग रहेको र आफूल भने शेयर हाल्ने सबैले पाउनुपर्छ भन्नेमा विवाद उत्पन्न भएको बास्तोलाले भनाई छ । उनीहरु कर छलेर बाँड्नुपर्छ भन्ने तर आफू कर तिरेरै बाँड्नुपर्छ भन्नेमा विवाद भएको बास्तोलाको दाबी छ ।
पोखरा उद्योग वाणिज्य संघमा यसअघि समेत निर्विवाद कर्पोरट सदस्यमा चयन भएका बास्तोलाले यसपटक पनि दोहो¥याउन चाहेका थिए । तर, आफ्नै साथीहरु जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न पुगेपछि बास्तोलाले आफ्नो संस्थाभित्रको विवादलाई सार्वजनिक गरेका हुन् ।
यसैबीच, बास्तोलाले अब आफू पोखरा उद्योग वाणिज्य संघको असोजमा हुने ३२ औं महाधिवेशनमा कर्पोरेट सदस्य पदमा उम्मेदवारी नदिने घोषणा समेत गरेका छन् ।
उनले सार्वजनिक गरेको विज्ञप्ती तल हेर्नुहोस् ।




