
पोखरा । पोखरा लेखनाथ महानगरपािलकाको नाम आधिकारीक रुपमा आजदेखि फेरिएको छ । नेपाल सरकारले राजपत्रमा प्रकाशन गरेसँगै अव महानगरको नामबाट लेखनाथ हटेर पोखरा मात्रै कायम भएको छ । यससँगै अब काम काज पोखरा महानगरपालिका नामबाटै हुनेछ ।
गत साउन २३ गते मन्त्रीपरिषद् बैठकले महानगरको निर्णय र प्रदेश सरकारको सिफारिस बमोजिम लेखनाथ शब्द हटाउने निर्णय गरेको थियो । गत असार १२ गते महानगरको तेश्रो नगरसभाले अब पोखरा महानगरपालिका मात्र रहने गरी लेखनाथ शब्द हटाउने निर्णय गरेको थियो । उपमहानगरपालिका रहँदा पनि पोखरा मात्र थियो । पछि, लेखनाथ नगरपालिका सहित आसपासका गाविस गाभेर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरियो । बहुमत वडाध्यक्ष र सदस्यहरुले नाम परिमार्जन गर्ने बिषयमा समर्थन जनाएका थिए ।

यस प्रस्तावमाथि ४० जना नगर सभासद्ले आफ्ना धारणा राखेका थिए । अधिकांशले कवि शिरोमणि लेखनाथ पौड्याललाई ससम्मान उनको नाम अन्य क्षेत्रमा जोड्न सकिने तर महानगरको नाम पोखरामात्रै हुनुपर्ने बताएका थिए । नामको बिषयमा पहिले देखि नै विरोध र विवाद आएकोले हटाउनका लागि प्रश्ताव गरिएको थियो ।
साविक लेखनाथ नगरबासीले भने लेखनाथ नगरपालिका रहँदा एक अर्ब बजेट आउनेमा अहिले महानगरमा मिसिएपछि त्यस क्षेत्रमा २० करोड मात्र आएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् । विकास पनि नहुने, लेखनाथ नाम पनि हटाउने भएपछि नगरपालिका नै हुनुपर्ने केहिको माग छ । तर, सर्वसम्मत रुपमा नाम हटाई ग्रेटर पोखराको अवधारणामा अघि बढेको महानगरपालिकाले जनाएको छ ।
