पोखरा मल्टिमोडलमा एशियाड रजत विजेता गौतमलाई सम्मान तथा दर खाने दिन बृद्धाश्रममा सहयोग

Share:

पोखरा, २६ भदौ पोखरा सिर्जनाचोक स्थित पोखरा मल्टिमोडल क्याम्पसले हालै एशियाडमा रजत पदक जित्न सफल आफ्ना पूर्व विद्यार्थी विजय गौतमलाई बधाई तथा सम्मानका साथै बृद्धाश्रममा सहयोग प्रदान गरेको छ ।

ईण्डोनेसियाको जाकार्तामा भएको प्याराग्लाइडिङ खेल अन्तर्गत मेन क्रस कन्ट्री स्पर्धामा नेपाली टोलीका महत्वपूर्ण सदस्य गौतमको प्रदर्शनले क्याम्पसको गरिमा बढेको महसुस गर्दै सम्मानपत्र र दोसल्लाले सोमबार एक कार्यक्रमबीच सम्मान गरेको हो ।

क्याम्पसका अध्यक्ष लिलाधर बरालले नेपाली टोलीको उच्च प्रदर्शनले २० वर्षदेखि खडेरी लागेको पदक हात पारेको भन्दै यसले मुलुककै शिर उँचो भएको बताए । नेपालले एशियाली खेलकुदमा रजत पदक २० वर्षपछि प्राप्त गरेको हो भने समूह खेलमा यो नै पहिलो पदक पनि हो ।

क्याम्पस प्रबन्ध सञ्चालक राजकुमार गिरीले विद्यार्थीहरु हरेक क्षेत्रमा अब्बल बनेको उदाहरण प्रस्तुत गर्दै पूर्व विद्यार्थी गौतम सहितको टीमले आफू, परिवार, क्याम्पस, पोखरासँगै देशकै नाम राखेको उल्लेख गरे ।

क्याम्पस प्रमुख कृष्ण बहादुर केसीले प्याराग्लाइडिङले पदक जितेपछि मात्र यो पनि खेल हो भन्ने चिनिएको उल्लेख गर्दै गौतमको खेलप्रदर्शनसँगै प्राप्त उपलब्धिले क्याम्पसले गर्व महुसस गरेको बताए ।

सम्मानित व्यक्तित्व गौतमले सबैको साथ सहयोगले नै आज यो उपलब्धि हाँसिल भएको जनाउँदै क्याम्पस जीवनको स्मरण गरे । दिवा कार्यक्रम संयोजक बाबुराम लामिछाने लगायतले सो अवसरमा बोलेका थिए ।

यसैबीच, पोखरा मल्टिमोडल क्याम्पसले हरितालिका तीजको अवसरमा दर खाने दिन पारी बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई फलफूल वितरण र नगद हस्तान्तरण गरेको छ । पोखरा १८ स्थित बाच्छावुडुवामा रहेको वास्त्यायन बृद्घाश्रममा विद्यार्थीसहित पुगेर क्याम्पस प्रशासनले त्यहाँका ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरेको हो ।

यस्तै, आश्रम निर्माणार्थ नगद १५ हजार व्यवस्थापन समितिलाई हस्तान्तरण समेत गरियो । वृद्धाश्रमका युवराज वाग्ले र उद्धबहादुर कार्कीलाई क्याम्पस अध्यक्ष लिलाधर बराल, प्रबन्ध सञ्चालक राजकुमार गिरी, क्याम्पस प्रमुख कृष्ण बहादुर के.सी, संयोजक बाबुराम लामिछाने, विद्यार्थीहरुले फलफुल तथा नगद हस्तान्तरण गरे ।

पछिल्लो समय क्याम्पसले नियमित रुपमा विद्यार्थीहरुका लागि नेतृत्व तथा व्यक्तित्व विकास अभिमुखीकरणका साथै सामाजिक कार्यहरुमा संलग्न गराउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: