गलत संस्कृतिले विकास गर्न दिएन:मुख्यमन्त्री गुरुङ

Share:

पोखरा, भदौ ३०। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्व र संस्कृतिको तालमेल नमिल्दा विकासमा अवरोध हुने गरेको बताएका छन् । नेपालको आत्मकेन्द्रित संस्कृतिबाट जकडिएको कारण नेतृत्व असल भएतापनि काम गर्न नसक्ने उनले बताए । ‘हाम्रो कल्चर परिवार, नातावाद भन्दा बाहिर जाँदैन्, पार्टी, गुट, नेता, कार्यकर्ताले गरेको गलत कार्य पनि ढाकछोप गर्ने प्रवृत्ति छ, गलत संस्कारको अन्त्य नभएसम्म विकास गर्न गाह्रो छ ।’ उनले भने । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले सिंगापुरका प्रा.डा. गेरि लिटसँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले दक्षिण एसियाको विकासको बाधक नै संस्कृति भएको बताए ।

‘लि क्वान यु सँग नेतृत्वमा हुनुपर्ने गुण, दुरदर्शिता, व्यवहारमा कुशल, कडा विचार, स्पष्ट अडान र सामयिक नीतिका कारण सफल भए । यसको अलावा सिंगापुरले दार्शनिक संस्कृति अँगाल्यो, त्यहाँका मानिसले मानवता, सहकार्यतामा विश्वास गर्ने भएका कारण त्यहाँको संस्कृति परिवर्तन गर्न सम्भव भयो, तर हामीकहाँ एउटा कार्यक्रममा जाँदा पनि मञ्चमा नबोलाए कार्यक्रम नै बहिष्कार गर्ने प्रवृत्ति छ ।’ उनले भने ।

नयाँ तरिकाले काम गर्दा कर्मचारीले हुँदैन, विधिले दिँदैन् भन्छन्, कर्मचारीमा पनि विधिभन्दा बाहिर जानुहुन्न भन्ने संस्कार बसेको छ, यो उनीहरुको गल्ती होईन कि हाम्रो संस्कार नै गलत हो । द्वन्द्व उत्पादन गर्ने संस्कृतिकै कारण पछाडि परेको उनले बताए । गुरुङले भने, ‘संस्कृति परिवर्तन गर्न पनि कठिन छ, सिंगापुरमा ७ हजार बहुराष्ट्रिय कम्पनी छन्, हामीकहाँ एउटा कम्पनी आउन लाग्यो भने खैलाबैला हुन्छ, नकारात्मक सोच्ने संस्कृतिकै कारण हामी अगाडि बढ्न सकेका छैनौँ ।’

करको प्रसङ्गमा उनले थपे, ‘जहाँ धेरै कर छ, त्यहाँ सामाजिक न्याय, स्वास्थ्य, शिक्षा, विकास, सामाजिक सूचकहरु पनि अगाडि छन्, तर हाम्रो प्रवृत्ति भने गलत छ, कर बढ्नुलाई गणतन्त्रको उपलब्धि भनेर व्याख्या गर्ने प्रचलन छ, राज्यले लिने करबाट नै नागरिकलाई सुरक्षा, सेवा दिने हो, हाम्रो संस्कृतिले नै विकासविरोधी छ ।’ नयाँ विकासे मोडल अवलम्वन गरि प्रदेशले अब वातावरणमैत्री लगानीमा जोड दिने उनले बताए । प्रदेशसँग रहेका स्रोत साधनको परिचालन गरि सरकारले विकासको नयाँ मोडल अवलम्वन गर्ने मुख्यमन्त्री गुरुङको भनाई छ ।

FilePhoto

कमेन्ट गर्नुहोस्
Share: